‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीति लिएको कृषि विकास बैंक ५३औं बर्षमा, अब नयाँ योजनाका साथ

Advertisement

काठमाडौं । कृषि क्षेत्रको विकासलाई प्राथमिता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं बर्षमा प्रवेश गरेको छ । कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति लिएको यो बैंकले यो बर्ष समयमै बार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई ३० प्रतिशतको आकर्षक मुनाफा वितरणसमेत गरेको छ ।

बैंकले आइतबार पत्रकार सम्मेलन गरी बैंकको प्रगति र योजनाबारे जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ५३ बर्षको यात्रामा कृषि विकास बैंक एउटा सबल र सक्षम बैंकको रुपमा स्थापित भएको बताए ।

उनले कृषि विकास बैंकको पाँच दशक लामो इतिहासलाई ‘इन्जिन अफ रुरल ट्रान्सफमेशन’को रुपमा हेर्न सकिने बताए । उपाध्यायले ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा आफूहरु केन्द्रित रहेको पनि बताए ।

बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । बैंकले २०४१ सालमा नेपालमा पहिलो पटक कम्प्युटरयुक्त बैंकिङ, सीमित सेवा (निक्षेप कारोबार, कर्जा तथा जमानत, फ्याक्स कारोबार) सहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा संजाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आबद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दैै आएको छ ।

बैंक समस्याग्रस्त हुँदै गएपछि २०६२–६३ मा एसियाली विकास बैंकको प्राविधिक सहयोगमा ‘बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सुधार अघि बढाइएको कृषि विकास बैंक अहिले भने सफल र व्यवसायिक बैंकको रुपमा स्थापित भएको छ । बैंकका सीईओ उपाध्यायले अब यस बैंकलाई समग्र बैंकिङ क्षेत्रकै अग्रणी बैंकको रुपमा स्थापित गर्ने प्रतिवद्धतासमेत जनाए ।

सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयर रहेको यस बैंकमा अधिकांश कृषकहरु सेयरधनी छन् । बैंकको करिव १२ लाख निक्षेपकर्ता, करिब एक लाख ४५ हजार ऋणी, छ हजार इन्टरनेट सेवाग्राही, दुई लाख ६२ हजार मोवाइल बैंकिङका उपभोक्ता, ८१ हजार भिसा डेबिट कार्ड प्रयोग कर्ता रहेका छन् भने ट्रेड फाइनान्स, एसी, फरेक्स, डिम्याट, सिआश्वा, आईपीएस, गोएएमएल जस्ता सेवाहरुसमेत प्रदान गर्दै आएको छ ।

सीईओ उपाध्यायले सरकारको ‘सबै नेपालीको बचत खाता, खोलौं बैंक खाता’ अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको बताए । आफूहरुले खराब कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमबाट बढीभन्दा बढी ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ, कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिएको बताउँदै उनले यसवर्ष निर्धारित समयमै आफ्नो १३औं साधारणसभा सम्पन्न गरी ३० प्रतिशतको उत्साहजनक लाभांश उपलब्ध गराउन सफल भएको बताए । आगामी बर्षमा पनि यसलाई नियन्तरता दिन आफूहरुको प्रयास रहने उपाध्यायले बताए ।

बैंकको निक्षेप गत बर्ष पुससम्मको तुलनामा यो बर्ष सोही अवधिमा १५ दशमलव ४४ प्रतिशत बढेर एक खर्ब २७ अर्ब पुगेको छ भने कर्जा १० दशमलव २३ प्रतिशत बढेर एक खर्ब १७ अर्ब पुगेको छ । त्यस्तै खराव सोही अवधिमा १० दशमलव ३१ प्रतिशतले कमी आई शुन्य दशमलव ८२ प्रतिशत कायम भएको छ ।

पुससम्म बैंकको नाफा १६ दशमलव ९९ प्रतिशतले वृद्धि भएर दुई अर्ब तीन करोड कायम भएको छ भने ईपीएस २८ दशमलव ३७ कायम भएको छ । गत बर्षको पुससम्मको तुलनामा यो बर्ष पुसम्म मोवाइल बैंकिङ प्रयोग गर्ने उपभोक्ता दुई हजार ६४२ प्रतिशतभन्दा बढिले बढेको कृषि विकास बैंकले तथ्यांक देखाएको छ । अहिलेसम्म यो सुविधा लिनेको संख्या दुई लाख ६२ हजार ४३७ पुगेको जनाइएको छ ।

यी तथ्यांकहरुले आफरुहरुलाई उत्साह थपेको बताउँदै सीईओ उपाध्यायको भनाई छ । उनले गएको एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिब दुई हजार पाँचसयभन्दा बढीलाई करिब पाँच अर्व ५८ करोड रकम लगानी गरेको बताए ।

साथै, कृषि विकास बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम बनाएको छ । उपाध्याय भन्छन्, ‘हामीलाई थाहा छ, हाम्रो एक करोडभन्दा माथिको कर्जाको भार कूल कर्जामा एक प्रतिशतभन्दा न्यून छ । दश लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन् । हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई ‘बैंकले लिन मात्रै होइन, दिन पनि जान्दछ‘ भनी आगामी ७ वर्षका लागि १० दशमलव ३५ प्रतिशत व्याजदरमा प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोड रुपियाँ बराबरको ऋणपत्र निस्काशनको अन्तिम तयारीमा रहेका छौं ।’

adbl

Advertisement

Advertisement

Advertisement