हिमपहिरोमा हराएकाको खोजी गर्न नेपाली सेना र कोरियाली उद्धार टोली परिचालन

Advertisement

कास्की । अन्नपूर्ण आधार शिविर पदयात्रा (बेस क्याम्प) का लागि जाने क्रममा सम्पर्कविहीन भएका सात जनाको उद्धारको लागि नेपाली सेनासहित कोरियाली उद्धार टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

गएको शुक्रबारदेखि नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन अझै पनि बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ।

नेपाली सेनाको दक्ष टोली र कोरियाली प्रविधिसहितको टोलीले आज पत्ता लगाउने संभावना बढेको छ । कोरियाली टोलीसँग मान्छे हिउँभित्र कहाँ छ भन्ने प्रविधि रहेकोले उद्धारमा आज केही पत्ता लाग्ने संभावना छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सेना र हेलिकोप्टरसहित खोजी गर्नका लागि आइतबार अनुरोध गरेको थियो ।

उता पर्यटकहरु हराएको खबर थाहा पाउने वित्तिकै उद्धारमा जुटेको टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आइतबार पत्रकारसम्मेलन गरी तत्काललाई बेपत्ताहरुको खोजी कार्य असम्भव रहेको बतायो। उद्धारको लागि गएको टोली नै हिमपहिरोको जोखिममा परेपछि पोखरा फर्किएको थियो।

Advertisement

Advertisement

Advertisement