सभामुख हुन अग्नि सापकोटाले मनोनयन दर्ता गरे, एमसीसी पास हुने संभावना बढ्यो

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सभामुखका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटाले मंगलबार मनोनयन दर्ता गरेका छन् । सो पार्टीका शीर्ष नेताद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको पछिल्लो सहमतिअनुसार सापकोटाले सभामुख पद हात पार्न सफल भएका हुन् । उक्त सहमतिलाई नेकपाले पनि अनुमोदन गरिसकेको छ ।

सभामुख चयन गर्ने कुरा अमेरिकी संस्था एमसीसीको अनुदान सहयोगसहितको परियोजनालाई संसदबाट पास गर्नेसमेत जोडिएको छ । उक्त पदमा नेकपाका ओली र प्रचण्ड पक्षधरले दावी गर्ने क्रममा विवाद चुलिए पनि ओली र प्रचण्डबीचको गोप्य सहमतिपछि सापकोटालाई सो पद हात लागेको हो ।

यद्यपि अग्नि सापकोटामाथि द्धन्द्ध कालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप लाग्दै आएको छ । उनीविरुद्धको मुद्दा अहिले तामेलीमा छ । आफ्नो पक्ष शीर्ष नेताद्धयबीच सहमति भएसँगै सापकोटाले आज बिहान नयाँ बानेश्वरस्थित संसद भवन पुगेर मनोनयन दर्ता गराएका हुन्।

सभामुखमा सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मण लाल कर्ण, ओनसरी घर्तीमगर र देव गुरुङ रहेका छन् । काँग्रेसले उक्त पदमा उम्मेदवारी नदिने बताइसकेको छ । त्यो हिसावमा सापकोटा सर्वसम्मत हुने करिव निश्चित देखिएको छ ।

Advertisement

Advertisement

Advertisement