इक्यानले भेट्यो अष्ट्रेलियन राजदूत, ‘नेपाली विद्यार्थी गरिव छैनन्, अष्ट्रेलिया पढ्न सक्छन्’

Advertisement

काठमाडौं । केही समयअघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चासो व्यक्त गरेको छ ।

इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको टोलीले नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनसँग भेटेर आफ्नो चासो राखेको हो ।

अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चारमाध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । जवाफमा राजदूत वडले उक्त कुरा अष्ट्रेलिया सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए ।

राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रसंशा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताएको इक्यानले जनाएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन । नेपाली विद्यार्थीहरुबारे नजिकबाट उनीहरुले अनुगमन गरिरहेका छ ।

अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कम भए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । आफ्ना सन्तानका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन नेपालका अभिभावकहरु सक्षम रहेको उनको भनाई छ ।

पाण्डेले पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन् भनेका छन् । उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रियस्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताएका छन् ।
पाण्डेले नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम रहेको बताउँदै उनीहरुले नेपाली विद्यार्थीहरुप्रतिको धारणा जसरी प्रस्तुत गरे, त्यो समय र परिस्थित अनुकुल नभएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement