एक शब्दमा भन्नुपर्दा एमसीसी ‘पास’ हुन्छः पौडेल

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने दाबी गरेका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘एक शब्दमा भन्नुपर्दा एमसीसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ । प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’

पौडेलले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने, ‘डीएफआईडी खासगरी युएनअन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’

उनले एमसीसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन अनुसन्धान गरेर नै बोलेको पनि दावी गरे । पौडेलले भने, ‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्ने पनि छ । तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दूतावासले जारी गरेको १० बुँदे निश्कर्ष पनि हेरें ।’

उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै थपे, ‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भूकम्प आयो । किन ग्रान्ट दिएन् ?’

पौडेलले एमसीसी लागू भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने, ‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ नेता पौडेलले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैन्थ्यो भने ।

नेता पौडेलले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि सापकोटाले सबैलाई मिलाएर सहमति र एकताकासाथ अघि बढाउन सक्ने दावी गरे । उनले भने, ‘मैले त उहाँसँग लामो समयदेखि सहकार्य गर्दै आएको छु । उहाँ सुरुमा शिक्षक संगठनमा सक्रिय हुनुहुन्थ्यो । हामी विद्यार्थी कालदेखि नै सक्रिय थियौं । उहाँ भूमिगत राजनीतिमा सक्रिय हुनुभएको नेता हो । कतिपयले उहाँलाई आफ्ना छोराछोरीलाई पढाएर, बचाएर हिँडेको मान्छे पनि भन्ने गरिन्छ । तर, उहाँ त आफन्त, छोराहरु लिएर भूमिगत आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँ तीन–तीन पटक सांसदमा निर्वाचित हुनुभयो ।’

पौडेलले सापकोटा योग्यमध्येको योग्य उम्मेद्धवार भएको तर्क पनि गरे । उनले भने, ‘उहाँ योग्य उम्मेद्धवार हो । शिवमाया पनि योग्य उम्मेद्धवार नै हुनुहुन्थ्यो । सुवाशजी पनि योग्य हुनुहुन्थ्यो । पार्टीभित्र छलफल भयो । कहिलेकाहीँ आकस्मिकता र संयोगले हुन्छ । अहिले सापकोटाजीको सभामुखमा जीत सुनिश्चित छ ।’

Advertisement

Advertisement

Advertisement