अग्नीजीले पनि सुवाश नेम्वाङले जस्तै भूमिका निर्वाह गर्नुपर्छ, महरा जस्तो नभएको राम्रोः प्रधान

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सभामुखमा उम्मेद्धवारी दिएका अग्नि सापकोटाले कसैको पनि आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘उहाँ सभामुखको साझा उम्मेद्धवार हो । अब उहाँले आग्रह र पूर्वाग्रह त्यागेर काम गर्नुपर्छ ।’ प्रधानले व्यक्तिगरुपमा आफ्नो पनि सापकोटासँग राम्रो चिनजान भएको र खुल्लामञ्चको विषयमा साथ दिएको सुनाए ।

उनले भने, ‘उहाँ व्यक्तिगतरुपमा पनि असाध्यै राम्रो मान्छे हुनु्हुन्छ, उहाँले जनताको ईस्युमा साथ दिने प्रखर नेताको छबि बनाउनुभएको छ । हिजो सुवासजीले दुई पटक सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो, त्यो हामीलाई ठिकै लागेको थियो । तर, पछिल्लो पटक महराजी सभामुख हुनुभयो, उहाँको भूमिका त्यस्तो पाएनौं । सुवासजी त अवरोधलाई पनि छलफलको माध्यमबाट समाधान निकाल्नुहुन्थ्यो । अब अग्निजीले पनि सुवासजीको जस्तै भूमिका निभाउनुहोला ।’

प्रधानले सभामुखमा कसैको उम्मेद्धवारी नपरेकोले सापकोटा सर्वसम्मतीले विजयी हुने बताउँदै उपसभामुखमा कांग्रेसको दाबी हुने बताए ।’ नेता प्रधानले एमसीसी कम्प्याक्टको सबै कुरा वेबसाईटमा भएकोले नेपालले सबै मापदण्ड पूरा गरेर पाएको दाबी गरे ।

प्रधानले भने, ‘अब यसको लिगल स्टाटस चाहिएको छ । सबैले यसलाई स्वीकार्नुपर्छ । अहिलेको सत्तापक्षले पनि यसलाई पास गर्नुपर्छ । यो कम्प्याक्टमा भएका प्रावधानमा केही कमिकमजोरी भए यसबारेमा छलफल गर्न सकिन्छ ।’

उनले एमसीसीको बारेमा बोल्दा अध्ययन अनुसन्धान गरेर बोल्नुपर्ने सुझाव दिए । प्रधानले भने, ‘हिजो अरुण तेस्रो परियोजना बनाउनुपर्छ भन्दा तत्कालिन नेकपा एमालेले विरोध गर्यो । त्यो त्यतिकै कोलाप्स भयो । त्यो लागू भएको भए धेरै राम्रो हुन्थ्यो ।’

एमसीसीमा भारतको पनि सहमति लिनुको कारण नेपालको उर्जा खेर नजाओस भन्ने नै भएको प्रधानको तर्क छ । उनले भने, ‘साझा दस्तावेजको रुपमा एमसीसीलाई पारित गर्नुपर्छ । नेपालको समृद्धिको लागि एमसीसी चाहिएको छ । कांग्रेस पारित गर्ने पक्षमा छ ।’

Advertisement

Advertisement

Advertisement