उखु किसानले अझैसम्म पाएनन् १ अर्ब बक्यौता, मन्त्रालयले बोलाएको बैठकमा आएनन् उद्योगी

,   ७ माघ २०७६, मंगलवार, ०६:३९ pm   
Ukhuu-udhyog-banda

फाइल फोटो

heli

काठमाडौँ । माघ ७ भित्र उखु मिलले किसानलाई तिर्नु पर्ने १ अर्ब बक्यौता दिलाउँछौँ भनी सरकारले सम्झौता गरेपनि किसानले रकम पाउन सकेनन् । पाउनु पर्ने बक्यौता रकमको माग गर्दै विभिन्न जिल्लाका किसानहरुले काठमाडौँमा प्रदर्शन गरेपछि पुस १८ मा सरकार र उखु किसानबीच सम्झौता भएको थियो । उक्त पाँच बुँदे सम्झौताको समय मंगलबारदेखि सकिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ करोड ७५ लाखमात्रै बक्यौता रकम किसानहरुले पाएका छन् । महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिलले ३ करोड ९० लाख र अन्य मिलबाट ८५ लाखमात्र बक्यौता रकम उठेको छ ।

कुन मिलले कति तिर्न बाँकी ?
मन्त्रालयकाअनुसार अन्य १० वटा चिनी मिलबाट लगभग १ अर्ब बक्यौता रकम उठ्न बाँकी छ ।

महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख, अन्नपूर्ण मिलको २६ करोड १० लाख, श्रीराम सुगर मिलको २६ करोड, ७७ लाख, इन्दिरा सुगर मिलको १० करोड ४८ लाख, बाबा बैजुनाथ मिलको २५ लाख ५६ हजार, लुम्बिनी चिनी मिलको १० करोड ७४ लाख, महाकालीको ६२ हजार, रिलाइन्स मिलको ११ लाख ५३ हजार, एभरेस्टको ७ करोड ३९ लाख र वाग्मती खाडसारीको ६ करोड ७५ लाख गरी करिब १ अर्ब रकम बक्यौता तिर्न बाँकी छ ।

कारवाहीको प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार
उखु किसानसँगको सम्झौताअनुसार बक्यौता रकम बुझाउन अटेर गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मंगलबार बैठक बोलाएको थियो । तर उक्त बैठकमा श्रीराम चिनी मिल र महालक्ष्मी चिनी मिलका प्रतिनिधिमात्रै उपस्थित भएका थिए ।

बाँकी चिनी मिल सञ्चालकहरु सम्पर्कविहीन भएको बताइएको छ । यसरी किसानको बक्यौता बाँकी राख्ने र सम्पर्कबिहीन हुने उद्योगीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको उद्योग मन्त्रालय श्रोतले जनाएको छ ।

किसानहरु फेरी काठमाडौँ आउने
यसअघि काठमाडौँमा आएर आन्दोलनमा उत्रिएको अवस्थामा सरकारले बक्यौता रकम फिर्ता गराउने आश्वासन दिएर सम्झौता गराए, तर तोकिएको समयावधि भित्र रकम नपाएपछि किसानहरु फेरी आन्दोलनमा आउने भएका छन् । बक्यौता रकम नपाए आन्दोलनका लागि फेरी काठमाडौँ आएर संघर्षमा उत्रने पीडित उखु किसानहरुले बताए ।