बैंकहरुले १२/१५ प्रतिशत नाफामा चित्त बुझाउ-अर्थमन्त्री

Advertisement

काठमाडौं । हिजो आज चर्चा गरिन्छ विश्व अर्थतन्त्र ओरालो लाग्यो । को कता ओरालो लाग्यो । अर्थतन्त्र उकाली ओराली नै हो । यो सधै सिधा लाइनमा मात्रै हिड्दैन् । यो सरल बाटो, तेर्साे बाटो मात्रै हिड्दैन् । यो कहिले अलिकति उकालो चढ्छ, कहिले अलिकति ओरालो लाग्छ ।

हाम्रो भूगोल जस्तो छ अर्थतन्त्रको प्रवृत्ति पनि त्यस्तै हो उकाली ओराली । त्यस कारण अलिकति उकालो चढ्दैमा स्वाँस्वाँ गर्ने, अलिकति ओराली लाग्दैमा लडिन्छ की भन्ने बनावटी कुरा आवश्यक छैनन् । हाम्रो अर्थतन्त्र सोलिड, सुढृढ, सबल र स्थायी मार्गमा अघि बढिरहेको छ । बैंक तथा वित्तिय क्षेत्रका साथीहरु, व्यवसायीक क्षेत्रका साथीहरु ढुक्क भएर लगानी गर्नुस् ।

हामीले भनेको कुरालाई विश्वास गर्न गाह्रो भएको हो भने अन्तराष्ट्रिय संस्थाहरुका रिपोर्ट पनि हेर्नुस् । विश्व बैंक, एसियाली विकास बैंक र आइएमएफ जस्ता निकायहरुले नेपालको अर्थतन्त्रको अनुसन्धान गरेर प्रतिवेदनहरु प्रकाशित गर्छन् । ति पनि पढिदिनु होस् । आइएमएफको आर्टिकल फोरको मिसनले भर्खरै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसमा नेपालको अर्थतन्त्र कुन अवस्थामा छ भन्ने कुरा स्पष्टसँग लेखिएको छ । नेपालको अर्थतन्त्र एउटा रिमार्केबल पाथ अघि बढिरहेको छ भन्ने त्यसमा लेखिएको छ । विश्व बैंकको इकोनोमिक अपडेटले पनि त्यहि भन्छ । एडिबीको अपडेटले पनि नेपालको अर्थतन्त्र ठिक बाटोमा अघि बढिरहेको छ भनिरहेकै छ ।

हामी राम्रो बाटोमा छौं । आर्थिक वृद्धिबारे कुनै बेला २।३ प्रतिशतका बारेमा बहस हुने गर्दथ्यो । चार भयो भने धेरै हुन्थ्यो । हाम्रो २० वर्षको औषत आर्थिक वृद्धिदर नै ४ प्रतिशत हो । अहिलेको बहस आर्थिक वृद्धिदर ६ प्रतिशत की ८ प्रतिशत भन्नेमा केन्द्रित भएको छ । हाम्रो बहसको स्तर नै माथी उठिसकेको छ । बिसौं वर्षको ४ प्रतिशतको वृद्धिदरलार्ई छोडेर बहस नै ६ प्रतिशत भन्ने भैसकेपछि हामी कहाँ छौं स्पष्ट भैहाल्छ । यसको सिधा अर्थ भनेको हामी अर्थतन्त्रको माथिल्लो चरणमा उक्लिसकेका छौं ।

कुनै बेला मूल्य वृद्धि २२ प्रतिशत हुन्थ्यो । तर त्यतिबेला मूल्य वृद्धिले आकाश छोयो भनिदैनथ्यो । अहिले ६ प्रतिशत हुँदा खेरि चरम मूल्य वृद्धि भन्न थालिएको छ । गत २० वर्षको औषत मूल्य वृद्धि दर चाँही ८ प्रतिशत भन्दा माथी हो । त्यसकारण हाम्रो बहस अब यो भन्दा राम्रो गर्नुपर्छ भन्ने तर्फ केन्द्रित भएको छ । हामी विगत भन्दा राम्रो गरिरहेका छौं र अझै राम्रो गर्ने ठाउँ पनि छ ।

व्यापार घाटाको कथा लामो गरियो । तर यतिबेला घट्न थालेको छ । वैदेशिक रोजगारीमा युवा धेरै गएर देश वृद्धाश्रम हुने भयो भन्ने थियो । अहिले वैदेशिक रोजगारीमा जाने क्रम पनि ठूलो मात्रामा बढेको छैन् । केहि समय त घटेकै थियो अहिले थोरै मात्रै बढेको छ । हामी वैदेशिक रोजगारीमा जाने संख्यालाई असिमित रुपमा बढाउने पक्षमा छैनौं । तर हामीलाई रेमिटेन्स चाँही दोब्बर नै चाहिएको छ रे । अनि वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि घटाउ अनि रेमिटेन्स पनि दोब्बर बढाउ भन्ने कुरा पनि कहि हुन्छ ?

व्यापार घाटा कम गर, राजश्व पनि एक दमै धेरै संकलन गर । निक्षेपको ब्याज पनि धेरै लिन देउ, कर्जाको ब्याज भरसक कम राख । यस्तो पनि भन्न मिल्छ ? यस्ता कुराले हामी कहिले पनि गन्तव्यमा पुग्दैनौं । हामीले जहिले पनि वास्तविकताको धरातलमा बसेर अर्थतन्त्रको विवेचना गर्नुपर्छ । यथार्थ सूचकहरुलाई हेरेर बहस गरिनुपर्छ ।

बैंकरहरुले पनि अर्थतन्त्रलाई अघि बढाउनका लागि कथंकदाचित थप योगदान गर्नुपर्ने रहेछ भने होस्टेमा हैँसे गर्नुहोस् । नेपालको वित्तिय प्रणाली दक्षिण एसियामा सबै भन्दा राम्रो छ । निष्क्रिय कर्जा पत्याउनै नसकिने गरि तल छ । राम्रोसँग निरिक्षण भएको छ, त्यसकारण हामीले पत्याएका छौं ।

अहिले १२ अर्ब भन्दा कम पुँजीका बैंक त पाउनै छोडिएछ । कुनै बेला थियो सिंगो वित्तिय क्षेत्रको पुँजी जोड्दा पनि १२ अर्ब पुग्ने अवस्था थिएन् । म राष्ट्र बैंकमा हुँदा मौद्रिक नीतिको मस्यौदा बनाउँथे । त्यतिबेला सबैं बैंक तथा वित्तिय संस्थाको पुँजी जोड्दा पनि १२ अर्ब देख्दैनथेँ । अहिले एउटै बैंक १२ अर्बका भए । कृषि विकास बैंक नै १५ अर्बको भएछ ।

अब कुरा उठ्छ, १५ अर्ब पुँजी भएको बैंकले १५ प्रतिशत मात्रै मुनाफा बाढ्नु पर्यो भने पनि २ अर्ब भन्दा बढी नाफा कमाउनुपर्ने रहेछ । अनि बैंकको नाफा २ अर्ब नाघेपछि व्यवसायी साथीहरुको आँखा लाग्ने रहेछ । ओहो २।२ अर्ब नाफा कमाउने ? ३।३ अर्ब नाफा ? ४।४ अर्ब नाफा कमाउने भनेर हुर्मत लिने काम हुन्छ । बैंकहरुले त्यति नाफा कमाउन कति पुँजी लगाएका छन् भन्ने चाँही हेर्नु पर्दैन् ? पुँजीको प्रतिफल दरबाट पो हिसाब गर्नुपर्छ ।

राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब नाफा गर्यो । झट्ट सुन्दा पाँच अर्ब धेरै भयो जस्तो हुन्छ । तर २५ अर्ब पुँजी लिएर पाँच अर्ब नाफा गर्नु कुन ठूलो कुरा भयो र ? जम्मा २० प्रतिशत नाफा त हुने हो । कति न धेरै हो र । फेरी पनि २० प्रतिशत नाफा कमाउनै पर्छ भन्दिन म । १२।१५ प्रतिशत भएछ भने पनि तपाईहरुले चित्त बुझाउनु होला । अहिले व्यवसायीलाई अलिकति पैसा दिनु होला ।

अहिले रमाइलो भैरहेको छ, सिंहदरबार प्लाजामा काउलीहरु धेरै फल्थे । अहिले बैंक तथा वित्तिय संस्थाहरु राम्रा फल्न थालेछन् । नत्र यहाँका संस्थाहरुबाट राज्यले खासै प्रतिफल लिन सकिरहेको थिएन तर अहिले राम्रो प्रतिफल पाउन थालेको छ । सरकारले पहिलो पटक नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकबाट नेपाल सरकारले आफुले गरेको लगानी वापत राम्रो प्रतिफल पाउँदैछ । सरकारी बैंकहरु निजी क्षेत्रका बैंकहरुसँग प्रतिष्पर्धी बन्दैछन् ।

कर्मचारी संयन्त्र राम्रा भएका छन् । प्रविधिमा पहुँच पुगेको छ । कुनै बेला बैंकिंग सिस्टम रमाइलो थियो । युनियनमा दर्ता हुन २५ प्रतिशत कर्मचारी हुनुपर्ने थियो । तर दर्ता र मान्यता पाएका युनियन नै ६ वटा हुन्थे ।

कति वटा २५ जोडेपछि शतप्रतिशत हुन्छ भन्ने हिसाब पनि बिर्सेको थिएँ मैले त्यतिबेला । कृषि विकास बैंकमा त्यस्तो दिन पनि गएछ । दुई वटा मात्रै युनियन बनाएकामा कर्मचारीहरुलाई धन्यवाद । यसरी नै काम हुँदै गयो भने सरकारी बैंकलाई अरु बैंक भन्दा राम्रो व्यवसायीक वातावरण सरकारले बनाउँछ । किनकी यी बैंकहरुको लाभांश पाउने आखिर सरकारले नै हो ।-कृषि विकास बैंकको ५३ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरेको विचार

Advertisement

Advertisement

Advertisement