चालकहरु आतंकित हुनेगरी सडकमा १० हजार रुपियाँ जरिवानाको सुचना

,   ८ माघ २०७६, बुधबार, ०९:०६ am   
traffic_rule

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को जरिवाना असुल्न सुरु गरेको छ। उपत्यकाका दुई सय स्थानमा दश हजार रुपियाँ जरिवाना तिराउने लेखिएका बोर्ड टाँसिए पनि कारण भने खुलाइएको छैन। जसका कारण सवारी चालक नै सशंकीत भएका छन्। सवारी तथा यातायात ऐन २०४९ मा अर्कै नम्बर प्लेट राखी सवारी चलाउनेलाई ६ महीनासम्म कैद र पाँचदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिराउने व्यवस्था छ।

चालकलाई सचेत बनाउनेभन्दै महाशाखाले यही कानुनका आधारमा चर्को जरिवाना शुल्क उठाउन थालेको हो। सवारी साधनको पार्टपूर्जा परिवर्तन (मोडिफाइड) गर्ने, स्टिकर टाँस्ने, तीब्रगतिमा लगायतलाई पनि महाखाशाले यसै कानुनभित्र रहेर कारबाही सुरु गरेको हो। ऐनको परिच्छेद–१० मा सजाय सम्बन्धी व्यवस्थाअनुसार ट्राफिक संकेत उल्लंघन गर्ने, निषेध गरिएको ठाउँमा सवारी रोक्ने, साइडलाइट नबाल्ने, गलत साइड र एकतर्फी सडकमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनलेलगायत नियम उल्लंघन गरेमा पाँचसयदेखि एक हजार पाँच सयसम्म जरिवाना तिराउने व्यवस्था छ।

पहिलो पटक नियम उल्लंघन गर्नेलाई पाँच सय रुपियाँ, दोस्रो पटक उल्लंघन गर्नेलाई एक हजार रुपियाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक उलंघन गर्नेलाई एक हजार पाँच सय रुपियाँ जरिवाना गर्ने छ। महाशाखाका एसएसपी भीमप्रसाद ढकालले उपत्यकाभर ट्राफिक उल्लंघन गर्नेलाई जरिवानाको शीर्षक हेरेर कारबाही गरिने बताए। मोडिफाइड गरिएका सवारी गुडाउनेलाई प्रहरीले अनिवार्य १० हजार जरिवाना तिराउने उनले बताए।

aecc

जरिवानका साथै एक घण्टा सचेतना कक्षासमेत दिने बताइएको छ। चालकलाई सचेत र जरिवानाबाट बचाउनको लागि ठाउँठाउँमा जरिवाना लेखिएका बोर्ड राखिएको प्रहरीले जानकारी दिएको छ। ‘हाम्रो उद्देश्य दश हजार नै तिराउने होइन, चालकलाई जिम्मेवार र होसियार बनाउनु हो,’ उनले भने, ‘दुई महिनायता यो नियम कार्यान्वयन गराउन थालेका छौं अहिले व्यवस्थित हुँदै गएको छ। सबै चालक होसियार भएका छन् नियम उलंघन गर्ने केही कारबाहीमा पनि परेका छन्।’

नियम पूर्णरूपमा लागू भएको ठाउँमा बोर्ड राखेर जानकारी गराइएको प्रहरीले बताएको छ। चालकलाई लचिलो कारबाही तथा सामान्य जरिवाना गर्दा नियम उल्लंघनका घटनामा कमी नआएपछि सवारी तथा यातायात ऐन २०४९ लाई टेकेर अधिकतम् जरिवानाको सुरुवात गरिएको एसएसपी ढकालले बताए।

नागरिक दैनिकबाट ।