संसदमा आफ्नो न्यून संख्या हेरेर सभामुखमा उम्मेदवारी दिने आँटै गरेन प्रमुख प्रतिपक्षले

Advertisement

काठमाडौं । राजनीति हार–जित र अंकगणित मात्रै होइन । मुद्दा र एजेन्डा राजनीतिका मुख्य अस्त्र हुन् । तर, संघीय संसद्मा विपक्षी कांग्रेसले एउटै मुद्दामा अंकगणित हेर्‍यो र आफ्नो उपस्थिति जनाएन । सभामुख निर्वाचनमा कांग्रेसले दुईपटक ‘वाकओभर’ गर्‍यो । दुई वर्षको बीचमा दुईपटक सभामुखको निर्वाचन हुँदा कांग्रेसले विपक्षीको उपस्थिति नै देखाएन । नतिजा, पहिले महरा निर्विरोध भए । यसपटक नेकपा का अग्नि सापकोटाको मात्र उम्मेदवार भएकाले सभामुखमा निर्विरोध हुदै छन् ।

कांग्रेसले उम्मेदवार नदिएपछि २६ फागुन ०७४ मा तत्कालीन माओवादीका उम्मेदवार कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका थिए । संसद्मा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धमा तानिएपछि महराले १४ असोज ०७६ मा राजीनामा गरेका थिए । त्यसपछि नेकपाभित्रै सभामुखको उम्मेदवार को हुने भन्नेमा महाभारत भयो । तर, जब नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनायो । खेल सुरु नहुँदै कांग्रेसले ‘वाकओभर’ गर्‍यो । अब आइतबार सापकोटा सभामुख हुँदै छन् ।

कांग्रेसले दोस्रोपटक पनि सभामुखको चुनावमा किन भाग लिएन रु कांग्रेस संसदीय दल कार्यसमितिको जवाफ छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै, कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’

कांग्रेसको वाकओभर यतिवेला आएको छ, जतिवेला उसले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन भएका दुई आयोगमा सत्तापक्षसँग लेनदेन गरेको छ । आयोगमा केही दिनअघि सत्तापक्ष र प्रतिपक्षले भागबन्डा गरी टुंग्याएका थिए । जसमा सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका गणेशदत्त भट्ट भएका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवाको सम्बन्ध तिक्ततापूर्ण छैन । उनीहरूबीच वेलावेलामा भेटवार्ता भइरहन्छ । नेकपाका अर्का अध्यक्ष प्रचण्ड र देउवाबीच पनि निरन्तर छलफल चलिरहेको छ ।

वाइडबडी, बालुवाटार जग्गा, गोकर्णको जग्गा लिज, फोरजी, भारतद्वारा गरिएको जग्गा कब्जा, महँगी,मूल्यवृद्धि र कालोबजारीसहितका थुप्रै विषयमा सशक्त आवाज उठाउने मुद्दा छन् । तर, कांग्रेसले संसद्मा पनि सत्तापक्षसँग सहकार्य गर्नेजस्तो गरी आफूलाई खेलमै प्रवेश गराएको छैन । अब त कांग्रेस विपक्षी होइन संसद्देखि सडकसम्म सत्ता सहयोगीजस्तो देखिएको भनेर आलोचना सुरु भएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement