कार्यक्रममै एन्फा अध्यक्षलाई मुक्का हान्ने ‘डन’ साँसद दीपक मनाङेविरुद्ध प्रहरीमा उजुरी

Advertisement

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले सांसद मनाङेविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङबाट कुटिएका कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले कानुनी उपचार खोजेको बताए । लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गरेका हुन् ।

अध्यक्ष गुरुङले सार्वजनिक स्थानमा नै हातपात गरेको, प्रतियोगिता भाँड्न खोजेको र मानहानी गरेको भन्दै अध्यक्ष गुरुङले उजुरी दिएका हुन् । हातपात गरेको भोलिपल्टै बुधबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि भएको हातपातको कानुनी उपचार खोजेको बताए ।

‘हातपातको कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छु’, उनले भने– ‘सार्वजनिक ठाउँमा गालीगलौजसहित मुक्का प्रहार गरेकाले मैले मेरो जीउज्यानको सुरक्षाका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हुँ।’

‘दुःख गरेर काम गरेको छु । कहिले राम्रो भयो होला कहिले कमजोर रह्यो होला’, उनको भनार्इ थियो– ‘सम्झाउनुपर्ने ठाउँमा उल्टै मुक्का प्रहार गर्नुभयो।’ पोखरामा पहिलोपटक मुख्यमन्त्री कप आयोजना गरिएको बताउँदै गुरुङले सार्वजनिक ठाउँमा गालीगलौज गर्दै मुक्का हान्दा आफूले भने संयमता अपनाएको दाबी गरे ।

‘मैले संयमता अपनाएँ। प्रदेश सदस्यको हैसियतलाई मर्यादा गरेँ’ –उनले भने । गण्डकी प्रदेशको इज्जत जोगाउन आफू संयम बनेको जिकिर गरे । ‘मंगलबार दिउँसो १ बजे फुटबलको ओपनिङ थियो। कार्यक्रम केही ढिलो भएको थियो। उहाँ (राजीव) केही तनावमा हुनुहुन्थ्यो। मनाङबाट आएको टोलीलाई होटल, ग्राउन्ड नमिलाइदिने भन्दै कराउनुभयो। फुटबलमा डे आफ्टर बिफोर हुन्छ। मैले त्यसबारे बुझाउन खोजें। पैसा नतिर्ने भन्दै कराए। मैले सहँदै गएँ। उहाँले मुक्का हान्नुभयो ‘– गुरुङले भने ।

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले प्रदेश सभा सदस्य राजीव गुरुङविरुद्ध उजुरी परेकाले अनुसन्धान गरिने बताए ।

‘हातपात होइन झापड हानेको हुँ’
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले एन्फा अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको नभई झापड हानेको तर्क गरेका छन् । प्रदेशसभा सदस्य गुरुङले आफूले भेटेको भए एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पालाई नै हान्ने अभिव्यक्ति दिए ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement