उचाई लिंदै धरहरा: यसरी अघि बढ्दैछ निर्माणको काम (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । भूकम्प गएको तीन वर्षपछि शुरु भएको धरहरा पुनर्निर्माणको कार्य धमाधम अघि बढिरहेको छ । ११ तल्ले निर्माण हुन लागेको धरहराको काम अहिले छैटौँ तलामा पुगेको छ ।

दैनिक करीब ३५० कामदार धरहरा निर्माणको काममा खटिएका छन् । अहिलेको धरहरा सुरक्षित र २५० फिटको बन्दै छ–निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए । यो धरहरा बच्चादेखि बुढासम्मको लागि उपयुक्त हुन्छ किनकी यसमा एउटा भर्याङ र दुई वटा लिफ्ट रहनेछ । ४२.२ रोपनीको जग्गामा निर्माण हुने धरहरा २२ तलाको भएपनि बाहिरबाट हेर्दा भने ११ तले देखिन्छ ।

निर्माण शुरु भएको दुई वर्षमा सम्पन्न गरिने भनि अझै भन्न सकिने अवस्था छैन, विभिन्न समस्याहरु आईरहेको छ । धरहरा निर्माण स्थल वरपर रहेका केही संरचना भत्काउनु पर्ने देखिएको छ, तर सम्बन्धित व्यक्तिले मानिरहेका छैनन् । जसका कारण समास्या उत्पन्न भइरहेको छ–म्यानेजर श्रेष्ठले बताए । १५ दिनमा एक तला ढलान सकिने गरिएको र यसैगरी कार्य अघि बढाउने योजनाले काम अघिबढिरहेको पनि उनले जानकारी दिए । पहिलाको धरहराभन्दा यो निकै नै सुरक्षित बन्ने उनले बताए । २०७२ साल बैशाख १२ गते आएको भूकम्पका कारण यसअघिको धरहरा ढल्दा ५५ जनाले ज्यान गुमाएका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुनर्निर्माणका लागि ३० सेप्टेम्बर २०१८ मा बोलपत्र आह्वान गरेको थियो । धरहराको पुनर्निर्माण २०१८ अक्टोबर ६ बाट शुरु भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए ।

प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गरेर जीआईईटीसी-रमन कम्पनीले काम गरिरहेको छ । यसले ३ अर्ब ४५ करोड रुपियाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । निर्माणाधीन धरहराको पुनर्निर्माण सकिँदा आन्तरिक तथा बाह्य गरेर दिनमा चारदेखि पाँच हजार पर्यटकले भ्रमण गर्ने आंकलन गरिएको छ । त्यस्तै अहिले बन्न लागेको र पहिलेको धरहरा हेर्दा उस्तै देखिए पनि यो भरपर्दो र भूकम्प प्रतिरोधात्मक भएको जनाइएको छ ।

यस धरहरा क्षेत्र वरिपरी बगैँचा, क्यानटिन, सुनको जलप भएको धारा, बिहान मर्निङ वाक गर्ने ठाउँ तथा पानीको फोहोरा राख्ने र आकर्षित बनाइने छ ।





Advertisement

Advertisement

Advertisement