सुनकोशी मरिन ड्राइभर्सन आयोजनालाई राष्ट्रिय गौरबको आयोजना बनाउने सरकारको निर्णय

Advertisement

काठमाडौँ । सरकारले सुनकोशी मरिन ड्राइभर्सन आयोजनालाई राष्ट्रिय गौरबको आयोजना बनाउने निर्णय गरेको छ । माघ ६ गते मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त कुरा बताएका हुन् । उनले भने ‘उक्त आयोजनका लागि के कति श्रोत चाहिने हो, त्यसको सुनिश्चित गर्ने निर्णय पनि भएको छ ।’

४२ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालिएको हो । उक्त आयोजना सम्पन्न गर्न करिब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सो लागतमध्ये विद्युत उत्पादनमा ५३ अर्ब र सिँचाइमा ३७ अर्ब खर्च गर्ने योजना बनेको छ ।

तराई मधेशमा सिँचाइ र विद्युतको सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । आयोजनाको निर्माण अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

आयोजनाबाट २ नम्बर प्रदेशका चार जिल्ला बारा, सर्लाही, रौतहट तथा महोत्तरीको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । परियोजनाबाट २ नम्बर प्रदेश आमजनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ ।

लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भइसकेको छ । सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ ।

Advertisement

Advertisement

Advertisement