भन्सारमा धेरै सुधार आइसक्यो, अब 'डिजिटलाइज' गर्छौं: दाहाल (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार पहिलाको जस्ता नरहेको बताउँदै धेरै सुधार भइरहेको दावी गरेका छन् । नाडा अटोमोवाइल एशोसियशन अफ नेपालले भन्सार महशुल, भीसीटीएस (भेहिकल कन्साइनमेन्ट एण्ड ट्राकिङ सिस्टम) र करसम्वन्धमा आयोजना गरेको एकदिने प्रशिक्षणमा दाहालले भन्सारमा निकै सुधार आएको उदाहरण दिँदै अब यसलाई डिजिटलाइज गर्ने तयारी भइरहेको बताए ।

उनले भन्सार क्यासलेस (नगदरहित) भइसकेको बताउँदै हरेक भन्सारहरुमा बैंकको सुविधा रहेको बताए । दाहालले भन्सार प्रशासनमा सुधार आए पनि साक्षातकार भएर काम गर्ने बानीको अझै बिकास नभएको बताए । उनले भने, ‘मानिसहरु भन्सारसँग अझै पनि साक्षात्कार हुन सकेको छैनन् । मालवस्तुहरुको सही मूल्य घोषणा व्यवसायीहरुले नै गर्ने हो । भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहीत छ ।’

अहिले विभागले आशिकुडा वल्र्ड पनि लागू गर्न लागेको बताउँदै दाहालले डुइङ विजनेशको स्तर नेपाल भारतभन्दा अगाडि रहेको दावी गरे । उनले अहिले विभाग पेपरलेश भइसकको छ भने अब नो पेपरतर्फ जाँदैछ भन्दै नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आईसीपीतर्फ गइरहेको बताए । व्यवसायीहरुले भन्सारसम्बन्धी सुचना वा जानकारीहरु ईमेल तथा टोल फ्रिमार्फत लिन सक्ने दाहालले बताए ।

नाडाको प्रशिक्षण कार्यक्रममा ८१ फर्म तथा कम्पनीका प्रतिनिधिले सहभागिता जनाएका थिए । उसले यस्तो प्रशिक्षण कार्यक्रम विगतमा पनि गर्दै आएको जानकार दिँदै अहिलेको प्रशिक्षण तेस्रो भएको बताएको छ । भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व विभागका शाखा अधिकृत राजु प्याकुरेल र चार्टड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

अटोमोवाइल व्यवसायीहरुले भोग्नु परेका समस्याहरुलाई दृष्टिगत गरी प्रशिक्षण आयोजना गरिएको भन्दै नाडाले यसबाट धेरै हदसम्म व्यवसायीहरु लाभान्वित भएको बताए । कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार, भीसीटीएस तथा कर सम्बन्धमा धेरै अन्योलता रहेको बताएका थिए ।



तस्वीरः द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement