नेपाल वायुसेवाका ४० मध्ये २५ पाइलटले दिए राजीनामा, अन्तर्राष्ट्रिय उडान ठप्प हुँदै

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् ।

राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ ।

‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दुःखद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए ।

तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएको एयरबस ३३० जहाजका क्याप्टेन श्रवण रिजालले बताए । निगम व्यवस्थापन सुधार हुनुपर्ने, साथै विदेशी पाइलट र नेपाली पाइलटको विभेद अन्त्य हुनुपर्ने आफूहरूको प्रमुख माग रहेको रिजालले बताए । ‘व्यवस्थापनसँग पटक–पटक यी विषय राखे पनि सुनुवाइ नभएपछि बाध्य भएर सामूहिक राजीनामा बुझाएका हौँ,’ रिजालले भने, ‘नियमित प्रक्रियाअनुसार जाने हो भने एक महिनाअगाडि राजीनामा दिनुपर्ने नियम छ । तर, हामीले आन्दोलनस्वरूप तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हौँ,’ रिजालले भने । निगमले विदेशी पाइलटलाई मासिक २३ लाख पारिश्रमिक दिने गरे पनि नेपाली क्याप्टेनलाई भने कम तलब दिने गरेको छ । ‘नेपालीलाई पनि २३ लाख नै तलब दिनुपर्यो भन्ने हाम्रो माग होइन, नेपाली क्याप्टेन नै तयारी गरी विदेशीमाथि हुने फजुल खर्च रोक्नुपर्यो भन्ने हो,’ रिजालले भने ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement