कहाँ पुग्यो रानीपोखरीको पुनर्निर्माण ? (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरीको पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । लामो समयदेखि विवादित बन्दै आएको रानीपोखरी पुनर्निर्माण भूकम्प गएको झन्डै चार वर्षपछि अर्थात् २०७६ असोज २२ गतेदेखि  सुरु भएको हो ।

आगामी वर्षको जेठ मसान्तसम्ममा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको सीएम कन्सट्रक्सनका निर्देशक शान्तकुमार श्रेष्ठले कर्पोरेट नेपाललाई जानकारी दिए । उनले भने, ‘हामिले ६० प्रतिशत काम सकिसकेका छौँ, अब वाल लगाउने, ब्युटीफिकेशन तथा ईटा छाप्ने काम अघि बढिरहेको छ ।’ उनले पहिला र अहिले निर्माण भएको रानीपोखरीमा केहि फरक नहुने तर, अहिले बनेको मन्दिर भने भूकम्प प्रतिरोधात्मक हुने बताए । साथै, मन्दिरको बेस उठिसकेको पनि उनले जानकारी दिए ।

ranipokhari1उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण सुरु गरिएको हो । रानीपोखरी पूननिर्माण प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार विशेष ध्यान दिएर पुनर्निर्माण हुने श्रेष्ठले बताए । काम निरन्तर अघि बढिरहेकाले समयमा नै सम्पन्न हुने उनले बताए । १२ करोड बजेटमा सुरु भएको रानीपोखरीको पुनर्निर्माणमा एक सय १० जना कामदार खटेर काम अघि बढिरहेको छ । साथै निर्देशक श्रेष्ठका अनुसार पूल, इँटा छाप्ने काम, तथा मन्दिर बनाउने काम सुरु भईसकेको छ ।

ranipokhari3अहिले माटो जम्मा गरेसँगै ईँटा छाप्ने लगायतको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुल निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै ईटा प्रयोग गरिने निर्णय भएको छ । अब विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार बनाइने भएको छ । त्यसपछि, पोखरीको डिलको माथिल्लो भागमा ठूलो पेटी लगाइने भएको छ ।

पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ एवं लाइम कंक्रिटको काम सम्पन्न गरेसँगै ठाडो ईटा बिछ्याउने कार्य गरिने र हालै बनाइएको ढुंगाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई फुटपाथ लेबलमा लाइम कंक्रिटपछि माअप्पाको नै रेलिङ वाल बनाइने भएको छ । त्यसक्रममा फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी दुई इन्च बाक्लो कालो ढुंगा बिछ्याउने प्राधिकरणले निर्णय गरेको हो ।

पोखरीको पानीका लागि पूर्वतर्फ एउटा बोरिङको व्यवस्थासमेत हुने भएको छ । त्यस्तै, ठाउँ ठाउँमा आकाशे पानी संकलन गर्ने संयन्त्रसमेत निर्माण हुने भएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान पनि खुला राखिने भएको छ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम गरिने भएको छ ।

पुलको वृत-खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइमर सुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएसम्म पुरानै इँटाको प्रयोग हुनेछ । पुलको फुटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इन्चको पर्खाल निर्माण गरिने भएको छ । यहि ईटा अभावको कारणले पुनर्निर्माण कार्यमा ढिलाई भएको हो ।

Ranipokhari7यसअघि नै रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने टुंगो लागिसकेको छ । मन्त्रिपरिषद्को गत १४ माघमा बसेको बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको थियो ।



Advertisement

Advertisement

Advertisement