बैंकको संख्या घट्नु पर्छ, घराना मिल्नेहरु मर्जमा जानुस्ः अर्थमन्त्री

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरुलाई मर्जमा जान पुनः सुझाएका छन् । राष्ट्रिय बाणिज्य बैंकको ५५औ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भने-‘घराना मिल्नेहरु मर्जमा जानुस्, २७ वटै बाणिज्य बैंक चाहिन्छ भन्ने छैन ।’

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहित गरिरहेका बेला अर्थमन्त्री खतिवडाले समेत घुमाउरो पारामा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान निर्देशन दिएका हुन् । धेरै बैंक भन्दा पनि गुणस्तरीय बैंकिङमा ध्यान दिनुस्, उनले भने-‘राष्ट्रिय बाणिज्य बैंकले सेवालाई पनि गुणस्तरीय बनाउनु होला ।’

कार्यक्रममा उपस्थित बैंकरहरुतर्फ लक्षित गर्दै अर्थमन्त्री खतिवडाले भने-‘काम गर्नुस्, जोखिमपूर्ण व्यक्तिका कारोबारलाई विशेष ध्यान दिनुस्, त्यस्ता कारोबारले बैंकलाई पनि जोखिममा लान्छ ।’

उक्त कार्यक्रममा उनले दीर्घकालीन प्रकृतिका कर्जामा ब्याजदर करिडर बनाउन निर्देशन दिएको उल्लेख गरे । ‘कर्जाको आकार होइन, अब  कर्जाको गुणस्तर बृद्धिमा लाग्नुस’-उनले भने । ‘आकारमात्र बृद्धि गरेर हुन्न, कर्जाले उत्पादन बढाउन पनि भूमिका खेल्नु होला’-उनको सुझाव छ ।

वाणिज्य बैंकको आइपिओ आउन सक्छ
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताएका थिए । उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गरेपनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको उल्लेख गरे ।

अर्थमन्त्रीले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे ।

उनले भने, “बैंकको शेयर स्वामित्व संरचना कस्तो हुन्छ भनेर हामी छलफलमा नै छौँ । कानूनको सबैले पालना गर्नुपर्छ । त्यसो हुँदा सर्वसाधारणमा साधारण शेयर बिक्री गर्नुपर्छ ।” उनले सामाजिक सुरक्षा कोषमा दोहोरो कर नलाग्ने गरी नीतिगत व्यवस्था गरिन लागेको जानकारी दिए । अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निक्षेपकर्ताको चित्त दुखाउने गरी काम नगर्नसमेत आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताए । बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराएका थिए । उनले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी गराए । बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उल्लेख गरे ।

आज भन्दा ५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो ।

उक्त समारोहमा बैंकको सर्वोत्कृष्ठ/उत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ठ/उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा शेयरधनिहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक संचालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधकारी, कर्मचारी संचय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।







Advertisement

Advertisement

Advertisement