कोरोना भाइरसको प्रकोपले भयावह रुप लिँदै, चीनमा ४२ को मृत्यु, नेपालमा पनि भित्रियो

Advertisement

बेइजिङ । चीनमा कोरोना भाइरसको प्रकोपले भयावह रुप लिइरहेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । शनिबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसबाट ४१ जनाको मृत्यु भएको र यसको संक्रमण एक हजार २ सय ८७ जनामा देखिएको जानकारी दिएको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ। कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरियामा समेत पुगेको छ।

शुक्रबार जापान र दक्षिण कोरियाले अहिलेसम्म दुई–दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन्। त्यस्तै अमेरिकाको सियाटलमा एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि ४३ जनालाई निगरानीमा राखिएको छ।

सियाटलका ३० वर्षीय अमेरिकी नागरिक केही दिनअघि मात्रै वुहानबाट फर्किएका थिए। आइसोलेसन वार्डमा राखेर उनको उपचार भइरहेको छ। रोबोटसहितको मेडिकल टिम उनको उपचारमा खटिएको सीएनएनले जनाएको छ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ?
चीनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भन्दै बिहीबार तीन सहरमा आवतजावत बन्द गर्ने घोषणा गरेको थियो। वुहानसहित हुआङगाङ र इझौ सहरमा आवतजावत रोक्ने चीन सरकारले निर्णय गरेको छ। त्यस्तै चीन सरकारले नयाँ वर्षमा पनि ठूला कार्यक्रम नर्गन आदेश दिएको छ।

नेपालमा पनि कोरोना भित्रिएको पुष्टि
‘नोवल कोरोना भाइरस’ को संक्रमण नेपालमा पनि देखापरेको छ । चीनको वुहानबाट बिदामा नेपाल आएका विद्यार्थीको रगत र र्यालको नमुना परीक्षण गर्दा भाइरसको संक्रमण पुष्टि भएको हो । नमुना विशेष परीक्षणका लागि गत मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोलाबरेटिङ सेन्टर हङकङ पठाइएको थियो । नोवल कोरोना भाइरसको परीक्षण सेवा नेपालमा उपलब्ध छैन ।

रोग नियन्त्रणका लागि १६ अर्ब
चीन सरकारले प्राणघातक कोरोना भाइरससँग लड्नका लागि एक अर्ब आरएमबी (झण्डै १६ अर्ब नेपाली रुपियाँ) छुट्याएको छ। बिहीबार अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि १६ अर्ब छुट्याइएको जानकारी दिएको हो।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement