अब दिर्घकालिन प्रकृतिको ऋणमा स्थिर ब्याजदर, बीचमा बढाउन नपाइने

Advertisement

काठमाडौं । अब दिर्घकालिन प्रकृतिका ऋणहरुमा स्थिर ब्याजदर(फिक्स्ड इन्टेरेस्ट रेट) लागु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले केहि समय भित्रै दिर्घकालिन प्रकृतिका कर्जामा स्थिर ब्याजदरको नीति लागु गर्ने तयारी गरेको हो ।

‘फिक्स्ड ब्याजदर र फ्लोयटिङ ब्याजदर तोक्ने गरि राष्ट्र बैंकले नीति अघि बढाएको छ ।
त्यसपछि उद्योगी व्यवसायीले बैंकले बिचबीचमै ब्याजदर बढायो भनेर गुनासो गर्नु पर्दैन् । व्यवसायीले स्थिर ब्याजदरमा ऋण लिने की चलायमान(फ्लोयटिङ) रेटमा लिने भनेर आफैं छान्न सक्नेछन् ।’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने ।

उनले १०।१५ वर्षका लागि ऋण लिने उद्योगी व्यवसायीहरुले अहिले नै स्थिर प्रकृतिको ब्याजदरको सुबिधा पाउनुपर्ने भन्दै यस्तो व्यवस्था अघि सारिएको पनि बताए । यो व्यवस्था आएपछि बैंकहरुले एकै प्रकारको कर्जाामा पनि दुई खाले ब्याजदर लागु गर्नुपर्नेछ । एउटा ऋण अवधी भरका लागि स्थिर ब्याजदर हुनेछ भने अर्काे अहिले कै जस्तो प्रत्येक ३।३ महिनामा आधार ब्याजदर घटबढ भए अनुसारको दर कायम हुनेछ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि दिर्घकालिन प्रकृतिका कर्जामा स्थिर ब्याजदरको नीति ल्याउनेबारे छलफल अघि बढेको बताए ।‘१०।१२ वर्षका लागि ऋण लिनेहरुले अहिले नै निश्चित ब्याजदरमा कर्जा लिन सक्ने व्यवस्था ल्याउने तयारी भैरहेको छ, तर यस्तो कर्जाको ब्याजदर भने केहि महंगो पर्छ’, दाहालले भने ।

उनका अनुसार होम लोन लिन चाहने ग्राहकका लागि बैंकले २ प्रकारको ब्याजदर अफर गर्न सक्नेछ । स्थिर प्रकृतिको ब्याजदर रोजेमा ग्राहकले ऋण अवधीभरका लागि एउटै दर कायम हुनेछ । अथवा अहिले कार्यान्वयन भैरहेको व्यवस्था अनुसार ऋण लिन चाहेमा बैंकको आधार ब्याजदर परिवर्तन भएसँगै हुने उतार चढावका आधारमा ब्याजदर कायम हुनेछ ।

उनले स्थिर प्रकृतिको ब्याजदर केहि महंगो हुने पनि बताए । ‘आजकै दिनमा भन्ने हो भने स्थिर प्रकृतिको ब्याजदर केहि महंगो हुन्छ, तर यसमा ऋणीलाई कुनै जोखिम हुन्न, बैंकलाई पनि यस्तो ब्याजदर केहि जोखिमपूर्ण हुन्छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले कर्पाेरेट नेपालसँग भने । केहि बैंकहरुले अहिले पनि एकाध ऋणहरुमा यस्तो ब्याजदर अफर गरिरहेको पनि उनले बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले केहि दिन अघि नेपाल राष्ट्र बैंक र बैंकर्स संघका पदाधिकारीलाई बोलाएर दिर्घकालिन प्रकृतिका कर्जामा स्थिर ब्याजदरको नीति कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

‘बैंकर र राष्ट्र बैंकका साथीहरुसँग एउटा बैठक गरेर दिर्घकालिन ऋण लिने व्यवसायीहरुलाई फिक्स्ड इन्टेरेस्ट रेट(निश्चित ब्याजदर)को कोरिडोर दिनुस भनेको छु, ३।४ वर्षे कर्जा प्रवाह गर्दा, पूर्वाधार क्षेत्रमा कर्जा प्रवाह गर्दा कति ब्याज तपाईले लिने हो ? व्यवसायीलाई करिडोर दिएर अघि बढ्नुस । त्यसो भने लगानी उत्साहित हुन्छ ।’, अर्थमन्त्री खतिवडाले भने ।

बिशेष गरि हाइड्रो पावर क्षेत्रका लगानीकर्ताहरुले स्थिर प्रकृतिको ब्याजदर माग गर्दै आएका छन् । त्यस बाहेक उद्योग क्षेत्र, पर्यटन क्षेत्रका लगानीकर्ताले पनि स्थिर ब्याजदरमा ऋण लिने इच्छा देखाउने गरेका छन् ।  यस्तो पोलिसी कार्यान्वयनमा आएपछि बैंकहरुले दुई प्रकारका ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको नियमन विभागका प्रमुख देव कुमार ढकालले भने स्थिर प्रकृतिको ब्याजदर तोक्दा ऋण दिने क्षेत्र समेत तोक्न सकिने बताए ।

Advertisement

Advertisement

Advertisement