मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था भन्छन्- अग्निलाई सभामुख बनाउने निर्णय पुर्नविचार गर

Advertisement

काठमाडौं । नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो देखाउँदै सरकारका पछिल्ला कदमप्रति अन्तर्राष्ट्रिय सरोकारवाला संस्थाले असन्तुष्टि जनाउँदै सभामुख चयनमा पुनर्विचार गर्न आग्रह गरेका छन्। इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसिजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विद्यमान ऐन संशोधन नगरी संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति तथा सभामुख चयन प्रक्रियामा असन्तुष्टि जनाएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सरकारले पदाधिकारी नियुक्त गरिसकेको छ भने सत्तारुढ दल नेकपाको समर्थनमा अग्नि सापकोटाले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएका छन्। सो पदमा उनको मात्र उम्मेदवारी परेको अवस्था छ।

सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुरुप हुनेगरी कानुन संशोधन नगरी संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति र सभामुख चयन प्रक्रियाले नेपालले कानुनको पालना गर्न नसकेको टिप्पणी ती संस्थाले गरेका छन्। पूर्ण र स्वतन्त्र अनुसन्धान नभइन्जेल व्यक्ति हत्यामा संलग्न भएको आरोप लागेका सापकोटालाई सभामुख बनाउने निर्णयमा सत्तारुढ नेकपाले पुनर्विचार गर्नुपर्ने ती संस्थाको निष्कर्ष छ।

‘द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनमा न्याय र जवाफदेहिता सुनिश्चित गर्न एउटा पारदर्शी प्रक्रियाको आवश्यक पर्छ भन्ने नेपालका नेतालाई ज्ञान छ तर उहाँहरू यस्ता ज्यादतीमा जिम्मेवारलाई संरक्षण गर्ने प्रयत्न लाग्नुुभएको छ,’ ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गांगुलीले भनेकी छिन्, ‘राजनीतिक नेतृत्व जवाफदेहिताबाट यसरी नै पन्छिराख्ने हो भने यसले पीडितका सामु न्यायका लागि देशबाहिरका अदालतमा जानुभन्दा अर्को विकल्प हुनेछैन।’

सत्यनिरुपण तथा मेलमिलाप र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा आयुक्तहरू सिफारिस समितिले माघ ४ गते सरकारलाई नामावली बुझाएको थियो। कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संक्रमणकालीन न्याय कानुनसम्बन्धी सातै प्रदेशमा गरेका परामर्शमा समेत पीडित र नागरिक समाजको सहभागिता कम भएको जनाइएको छ।

आइसिजेका एसिया प्यासिफिक निर्देशक फ्रेडरिक रवास्कीले पीडितमैत्री र मानवअधिकार संगत प्रक्रियालाई समर्थन गर्ने राजनीतिक नेतृत्वको भनाइलाई गम्भीर रूपमा लिन एकदमै कठिन भएको बताएका छन्। आइसिजेले नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठकबाट संघीय संसद्को सभामुखमा सापकोटालाई प्रस्ताव गरेका प्रति आपत्ति जनाएको छ। २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्यामा सलग्न भएको किटानी जाहेरी दर्ता भएका सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गर्न पनि आइसिजेले आग्रह गरेको छ।

सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयप्रति ट्रायल इन्टरनेसनलले पनि आपत्ति जनाएको छ। ‘मानवअधिकार ज्यादतीका घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई अनुसन्धानमाथि नै हस्तक्षेप गर्नेगरी नेपालका अधिकारीले उच्च ओहोदामा मनोनयन गर्न हुँदैन,’ ट्रायल इन्टरनेसनलका कार्यक्रम व्यवस्थापक अड्री ओट्लीलले भनेकी छिन्, ‘यस्ता नियुक्ति द्वन्द्वकालीन मानवअधिकार ज्यादतीका पीडकलाई प्रतिबद्धता देखाउन पनि अनिच्छा गरिएको थप उदाहरण हो।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement