राजस्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा लगाउँदैनौँ: अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राजश्वको लक्ष्य पूरा गर्न व्यवसायीलाई डण्डा नलगाउने बताएका छन् । ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार भन्सार विभागले गरेको कार्यक्रममा खतिवडाले जथाभावी दुःख दिएर लक्ष्य पूरा गर्ने योजना सरकारको नभएकाले जिकिर गरे ।

उनले आय भएको ठाउँमा मात्रै राजस्व उठाउने र व्यवसायीलाई नावश्यक दुःख दिएर लक्ष्य पूरा गर्ने योजना नभएको दावी गर्दै भने, ‘राजस्व घट्दा पनि चिन्ता नगर्ने मन्त्री पाउनु भएको छ, खुसी हुनुस् । भन्सार राजस्व कम भएर केही हुन्न आन्तरिक राजस्व राम्रो छ । अन्तःशुल्क, भ्याट र आयकरको संकलन राम्रो छ ।’

खतिवडाले भन्सारको सन्दर्भमा महशुल अहिले नै घटाउन नसकिने बताए । त्यसका लागि पहिले व्यवसायीले विकृति हटाउने र सामानको गुणस्तरमा ध्यान दिन सल्लाह दिए । उनले विकृति हटेपछि मूल्य घटाउने बताउँदै आगामी दुई वर्षभित्र भन्सार प्रणालीलाई कागजविहीन (डिजिटल) बनाइने बताए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारलाई थप पारदर्शी बनाउन प्रविधिको अधिकतम् प्रयोग गरिने बताए । भन्सार सुधार तथा आधुनिकीकरण गर्न त्यससम्बन्धी नीति, कानुन बनाउन प्रक्रिया अगाडि बडाइएको जानकारी दिँदै उनले व्यापार सहजीकरणमा खास नीतिको सरलीकरण, एकीकरण र व्यापार प्रक्रियामा सुधार भइरहेको बताए ।

हरेक बर्ष जनवरी २६ लाई विश्वभर अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मनाउने गरिन्छ । व्यापार सहजीकरणका लागि भारत, चीन र बंगलादेशसँग फरक फरक द्धिपक्षीय संयन्त्रहरु क्रियाशील छन् । यस्ता संयन्त्रले सीमावर्ती भन्सारमा नीतिगत एकरुपता सहजीकरण, सूचना आदानप्रदान र समन्वयको काम गरिरहेका विभागको भनाई छ ।

चीनसँग भन्सार सहयोग सम्झौता सम्पन्न भएको छ भने भारतसँग यस्तो सम्झौता हुने प्रक्रियामा छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा भन्सार व्यापार सहजीकरण समिति केन्द्रमा क्रियाशील रहेको छ । निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वय गरिरहेको जनाइएको छ ।

पाँचौँ चरणको भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना कार्यान्वयनमा छ । भन्सार विन्दुमा करिब ४२ प्रतिशत हरियो र पहेँलो मार्गबाट र बाँकी ५८ प्रतिशत रातो मार्गबाट जाँचपास भएको छ ।

रातो मार्ग भौतिक परीक्षण हुने जाँच प्रणाली हो । पूर्वाधार विकास निर्माण र सुधारमा भन्सार क्रियाशील रहेको र विभागले कुल राजस्वको करिब ५० प्रतिशत राजस्व संकलन गर्दै आएको छ । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबोर्ड पनि कार्यनयनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement