त्रिहत्तर बर्षीया महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

Advertisement

काठमाडौं । भारतको आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक ७३ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गत बुधबार विहान १०ः३० बजे येरमति मंगायम्माले ७३ वर्षको उमेरमा दुई शिशुलाई जन्म दिएको र शिशु र आमा स्वस्थ रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उमेर निकै भइसकेकाले मंगयम्माले चिकित्सकीय सहयोगबीना बच्चा पाउन सम्भव थिएन । गर्भधारणका लागि मंगायम्माले एक दाताबाट डिम्ब लिइन् र प्रयोगशालामा आईभीएफ विधिमार्फत उनका श्रीमान सीतारामको शुक्राणुबाट सेचन गराइयो ।

त्यसपछि बनेको भ्रूणलाई मंगायम्माको गर्भमा प्रतिस्थापित गरियो । अन्ततः उनी वृद्धावस्थामा गर्भवती भइन् । धेरै उमेर भइसकेका महिलामा गर्भधारणको प्रक्रिया जटिल हुन्छ र त्यस्ता गर्भवती महिलाले अरुभन्दा धेरै सावधानी अपनाउनु पर्छ ।

‘दुवै स्वास्थ्य राम्रो छ,’ यो अपरेसन गरेका चिकित्सकले बताएका छन्, ‘दुई छोरी अब २१ दिन अस्पतालमा नै चिकित्सकको निगरानीमा हुनेछन् ।’ अहिलेसम्म विश्वमा नै सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएको घटना यसलाई मान्न सकिन्छ । यसअघि स्पेनकी मारिया डेल मार्केन लाराले २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । त्यसो त, भारतकै ओमकारी पनवारको नाममा यो रेकर्ड रहेको पनि अनुमान गरिन्छ । उनले २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

दुई छोरी जन्माएपछि येरामति निकै खुसी छिन् । ‘मानिसहरु मलाई निसन्तान महिला भन्ने गर्थे,’ उनले भनेकी छिन्, ‘मैले निकै दुःख सहेँ र अहिले बच्चाहरु जन्माउने फैसला गरेँ । मेरालागि जीवनको सबैभन्दा खुसीको क्षण नै यही हो ।’ यी दुईको विवाह २२ मार्च १९६२ मा भएको थियो ।

Advertisement

Advertisement

Advertisement