‘‘क्लिन फिड’ लागू गर्ने सन्दर्भमा एक बर्ष नेपाली मिडिया र विज्ञापन उद्योगले कष्ट भोग्नुपर्छ’

Advertisement

काठमाडौं । ‘एड गुरु’का रुपमा चिनिदै आएका नेपाली पूराना एक विज्ञापन व्यवसायी निर्मलराज पौडेलले क्लिन फिडसम्वन्धी कानुन कार्यान्वयनका क्रममा अबको एक बर्ष नेपाली मिडिया उद्योग र विज्ञापन उद्योगले समस्या भोग्नुपरे पनि एक बर्षपछि त्यो समस्या अन्त्य हुने विश्लेषण गरेका छन् ।

वेलकम एडभटाइजिङका कार्यकारी निर्देशकसमेत रहेका पौडेलले कर्पोरेट नेपालसँग भने, ‘क्लिन फिडले अब बजारलाई एक बर्ष असर गर्छ । नयाँ आउनेलाई एक बर्ष मिडियाहरुलाई आच्छुआच्छु पर्छ । यो विचमा जो सक्षम छ, त्यो टिक्छ । अर्को बर्षपछि तगडा भएर आउँछ । एक बर्ष अवस्था नराम्रै हुन्छ ।’

कानुनै आइसकेकाले अब क्लिन फिड लागू गर्दिन भनेर कसैले पनि अटेर गर्न नसक्ने बताउँदै उनले अहिले भइरहेको विदेशी विज्ञापनको डबिङ धेरै समय नटिक्ने बताए । पूराना केवल टिभी सञ्चालकहरुलाई एक बर्षभित्र क्लिन फिड लागू गर्न र नयाँलाई अहिलेदेखि नै लागू गर्न सरकारले समय दिएको छ ।

पौडेलले डबिङ एडहरु बन्द गर्न सुरु भइसकेको उदाहरण दिँदै त्यसलाई रोक्न पत्राचार पनि भइरहेको बताए । बडिङ एड प्रसारण गर्न लामो समय नदिएपछि सम्वन्धित विज्ञापनदाताहरु लामो समयसम्म चुप लागेर बस्नसक्ने अवस्था नरहने बताए । त्यस्ता कम्पनीले कुल खर्चको निश्चित प्रतिशत विज्ञापनमा खर्च गर्नैपर्ने अन्तर्राष्ट्रिय नियम नै रहेकाले लामो समय धुर्की लगाएर बस्न नसक्ने उनको तर्क छ ।

क्लिन फिडसम्वन्धी ऐन राजपत्रमा प्रकाशित भइसकेको छ । पौडेल भन्छन्, ‘अब कसैले पनि म यो ऐन कार्यान्वयन गर्दिन भनेर अटेर गरेर बस्ने अवस्था धेरै दिन रहँदैन् । कि त ऐन नै संशोधन भएर आउनुपर्यो, त्यो त्यति सहज छैन् । संशोधन भए पनि केही कुरामा हुनसक्ला । क्लिन फिड हटाउने गरी ऐन नै खारेज हुने अवस्था अब छैन् । त्यो भएकोले अब कति दिन भित्रमा यो कानुन पूर्ण कार्यान्वयनमा आउँछ ? सरकारले कत्तिको तदारुपता देखाउँछ ? हामीहरुले कत्तिको दबाब दिनसक्छौं ? त्यसमा भर पर्छ । ’

डाबर, लिभर, पेप्सी जस्ता बहुराष्ट्रिय कम्पनीले नेपालमा आफ्ना उत्पादन बेच्नुपर्यो भने कम्तिमा पाँचदेखि सात प्रतिशत विज्ञापनमा खर्च गर्नुपर्ने पौडेको भनाई छ । त्यस्ता कम्पनीहरुले एक बर्षमा एक खर्ब रुपियाँभन्दा बढिको सामान बिक्री गर्ने गरेको तथ्य प्रस्तुत गर्दै उनले त्यो बिक्रीअनुसार पाँचदेखि सात अर्ब रुपियाँको विज्ञापन गर्नुपर्ने बताए । अहिले नेपालमा भएका केही बहुर्राष्ट्रिय कम्पनीबाट मात्रै कम्तिमा पाँच अर्बको विज्ञापन थप हुने पौडेलको हिसाव छ । उनी भन्छन्, ‘अरु कम्पनीहरुको त मैले हिसाव जोडेकै छैन् ।’

अझै विदेशी च्यानलहरुमा विदेशी विज्ञापन बझिरहनुको कारण सरकारले दिएको एक बर्षको समयसीमा र नेपाली व्यवसायीहरुले दबाब दिन सुरु नगरिसकेको अवस्थाले मात्रै हो भन्दै एडगुरु पौडेलले डबिङमा कडाई गर्न सरकारले पत्राचार सुरु गरिसकेकाले त्यो स्थिति चाँडै अन्त्य हुने बताए ।

तर विदेशी विज्ञापन अँग्रेजीमा प्रकाशन तथा प्रसारण गर्न सकिने उनले बताए । पौडेलले भने, ‘किनभने अँग्रेजी अन्तर्राष्ट्रिय भाषा पनि हो । जस्तो अमिताभ बच्चन रहेको विज्ञापनमा अर्कोको भोकल राखेर पाइन्न । तर अँग्रेजीमा बनाइएको ओरिजिनल विज्ञापन भने प्रकाशन प्रसारण गर्न पाइन्छ । उनीहरुले प्रक्रियागतरुपमा यो विदेशी विज्ञापन हो भनेर अनुमति लिएर प्रसारण गर्न क्लिन फिडसम्वन्धी कानुनले रोक्दैन् । त्यो विज्ञापनलाई नेपाली दर्शकलाई लक्षित गरेर भारतीय टेलिभिजनमा प्रसारण गर्न अब पाइन्न ।

एडगुरु पौडेलले एक बर्ष नेपालका मिडिया र विज्ञापन उद्योगलाई गाह्रो बनाए पनि त्यसपछि त्यो स्थिति अन्त्य हुने बताए । उनले भने, ‘अहिले पनि ४० प्रतिशत डबिङ एडले बजार चलिरहेको अवस्था छ । त्यो अब नरोकिकन कुनै उपाय छैन् । यो बीचमा बहुर्राष्ट्रिय कम्पनीहरुले घुर्कीदेखाउने र आलटाल गर्ने प्रयास गर्लान । जब आफ्ना उत्पादित बस्तुमा विज्ञापन नगरी बिक्री नै नहुने अवस्था आउँछ, त्यसपछि बाध्य भएर नेपाली विज्ञापन प्रसारण र प्रकाशन गर्न थाल्छन् ।’

हिजोका दिनमा नेपालको बजारलाई समेत लक्षित गरेर विदेशी च्यानलमा करोडौं करोड रुपियाँ विज्ञापनमा खर्च गर्ने विदेशी कम्पनीहरु नेपालमै आउन बाध्य भएपछि टेलिभिजनमा मात्रै विज्ञापन गरेर नपुग्ने बताउँदै छापा माध्यम, रेडियो र विशेषगरी अनलाइन मिडियाहरुमा आक्रामक विज्ञापन नगरी उपाय नहुने तर्क गरे ।

पौडेलले भने, ‘किनभने नयाँ मिडियातर्फ पाठकहरुको आकर्षण बढ्दो छ । नेपालमै विज्ञापन गर्न बहुर्राष्ट्रिय कम्पनीहरुबीच व्यापक प्रतिस्पर्धा पनि हुन्छ । विज्ञापन उत्पादन पनि यहीं हुँदा नेपाली कलाकारहरुले पनि काम पाउँछन् । स्टुडियोदेखि प्रोडक्शन हाउससम्मले काम पाउने अवस्था हुन्छ ।’

क्लिन फिडसम्वन्धी कानुन लागू गर्ने सन्दर्भमा चाँडै विज्ञापन बोर्ड गठन जरुरी रहेको उनले बताए । पौडेलले भने, ‘बरु यसलाई व्यवस्थित गर्न चाँडै विज्ञापन बोर्ड गठन गर्नुपर्छ ।’ तर उनले आफू भने बोर्डमा नियुक्त हुन इच्छुक नरहेको खुलाए । पौडेलले भने, ‘कहिल्यै जागिर खान गइएन् । बोर्डमा पनि गइन्न । सुरुदेखि नै व्यवसाय गर्दै आएकोले यही व्यवसायलाई थप बढाउने प्रयास गर्ने हो । बरु सल्लाह दिने काम गर्न सकिन्छ भत्ता नलिइकन् ।’

नेपालको मिडिया उद्योग र विज्ञापन उद्योगको विकासका लागि के कस्तो नीति र कार्यक्रम चाहिन्छ ? त्यसका लागि सल्लाह दिने आफू जहिले पनि तयार रहेको उनले स्पष्ट पारे । पौडेलले ‘क्लिन फिड लागू गर्नुपर्छ’ भनेर सुरुमा बोल्ने आफूबाहेक कोही नरहेको अनुभवसमेत सुनाए ।

उनले भने, ‘हरेक मञ्चहरुमा गएर क्लिन फिड लगाउनुपर्यो भनेर मैले बोल्दै गर्दा मलाई साथ दिने कोही थिएन् । बाह्र बर्षमा खोलो पनि फर्किन्छ भन्थे । मैले १२ बर्षअघि उठाएको विषय अहिले आएर सार्थक भएको छ । मैले माग गरेको क्लिन फिड र अहिलेको क्लिन फिडमा धेरै अन्तर छ । तर पनि त्यतिबेलै यो कानुन ल्याएको भए नेपालको मिडिया उद्योग र विज्ञापन उद्योग धेरै अघि बढिसकेको हुने थियो । त्यतिबेला यो कानुन बनाउने आँट सरकारले पनि गरेन् । ढिलै भए पनि कानुन बन्यो । यसलाई सकारात्मकरुपमा लिनै पर्छ ।’

Advertisement

Advertisement

Advertisement