माघ १७ गतेदेखि पाटनमा प्राङ्गारिक कृषि मेला आयोजना हुने

Advertisement

काठमाडौं । प्राकृतिक एवं विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ १७ देखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ । पाटन सङ्ग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा ५० कक्ष रहनेछन् । मेलामा २०० भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री–वितरणका लागि राखिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पछिल्लो समय उपभोक्ताले प्राङ्गारिक उत्पादन खोजे पनि सरकारले रासायनिक मल, विषादीलगायत पदार्थ आयातमा सहुलियत दिई जैविक तथा वैदिक खेती प्रणालीलाई बिर्संदै जाँदा सम्भव नभएको पूर्वगृह राज्यमन्त्री एवं नेपाल अगर््यानीक एसोसिएशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले बताए । ‘किसानले जैविक खेती गर्न खोजे पनि सरकारको ध्यान त्यसतर्फ नजाँदा हाम्रा पितापुर्खाले गरेको कृषि पद्धति बिर्संदै गएका छौँ, देशमा प्राङ्गारिक कृषि प्रणालीको प्रमाणपत्र दिने निकाय र परीक्षण गर्ने संयन्त्र नहुँदासमेत यो पद्धति छायाँमा परेको छ’, उनले भने ।

हाल विश्वमा ३० संस्थाले प्राङ्गारिक खेतीको प्रमाणपत्र दिने गरेका छन् । जापानमा कृषि मन्त्रालयले यससम्बन्धी काम गरिरहेको छ । भारत पनि प्राङ्गारिक खेतीतर्फ आकर्षित भइरहेको छ । भारतले सिक्किम र हिमाञ्चल प्रदेशलाई विषादी एवं रासायनिक पदार्थरहित प्रदेश घोषणा गरेको छ । कृषि मन्त्रालयले प्राङ्गारिक खेतीसम्बन्धी सम्मेलन गरी प्रतिवेदन तयार पारे पनि कार्यान्वयनका लागि पहल नगरेको एसोसिएशनले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई जैविक खेतीको समेत अध्ययन अनुसन्धानमा लगाउनुपर्ने माग एसोसिएशनले गरेको छ ।

प्राङ्गारिक उत्पादन बढाउन सके विषादीका कारण लाग्ने धेरै रोग कम भएर जाने भएकाले पनि यसतर्फ सरकारको ध्यान जानुपर्ने माग पनि पत्रकार सम्मेलनमा गरिएको थियो । खाद्यान्न शरीरको ठूलो औषधि हुने भएकाले विषादीरहित उत्पादनमा जोड दिने माग गर्न सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसँग भेट्ने कार्यक्रम तय भएको अध्यक्ष बाँस्कोटाले सुनाए ।

प्राङ्गारिक उत्पादनसँगै आयुर्वेदको प्रवद्र्धनमा पनि एसोसिएशनले काम गर्ने जनाइएको छ । यसले बिग्रँदै गएको वातावरणीय सन्तुलनमा समेत सहयोग गर्नेछ । सरकारले वार्षिक अर्बौं रुपियाँ रासायनिक मल र विषादी आयातमा सहुलियत दिन छुट्याएकामा त्यसलाई प्राङ्गारिक खेती प्रवद्र्धनमा बदल्नुपर्ने एसोसिएशनको माग रहेको उपाध्यक्ष प्रेमलाल लामाले बताए ।

आम मानिस हाल चाहना नहुँदा नहुँदै पनि विषादीयुक्त उत्पादन उपभोग गर्न बाध्य छन् । उत्पादनलाई निर्यातमुखी बनाउन पनि प्राङ्गारिक खेतीमा जोड दिने उद्देश्यले प्रचारप्रसारका लागि मेला आयोजना गरिएको आयोजक समिति संयोजक शान्ता कोइरालाले बताए ।

मेलामा प्राङ्गारिक तथा वैदिक खेतीसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनाका साथै यससम्बन्धी जानकारीसमेत दिइने उनले बताए । हाल पाँचथर, इलाम, काभ्रेपलाञ्चोक, नवलपरासी, गुल्मीलगायत जिल्लामा करीब १८ कम्पनीले अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र लिएर प्राङ्गारिक खेती गरिरहेको एसोसिएशनले जनाएको छ ।

मेलामा रु एक करोड बराबरको प्राङ्गारिक उत्पादनको कारोवार गर्ने लक्ष्य आयोजक समितिको छ । कर्णाली प्रदेश सरकारले प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने नीति लिएकामा धन्यवाद दिँदै अन्य छवटै प्रदेश सरकारलाई पनि यसतर्फ ध्यान दिन एसोसिएशनले माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement