६७औँ कुष्ठरोग दिवसः अझै पनि खुलेर बाहिर आउन सकेका छैनन्  कुष्ठरोगी

Advertisement

नियमितरुपमा औषधि खाए पूर्णरुपमा निको हुने भए पनि कुष्ठरोगी अझै खुलेर बाहिर आउन सकेका छैनन् । समाजबाट अपहेलित हुने डरले कुष्ठरोगका बिरामी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

पूर्वाग्राही शक्ति, कुशासन र विभेद्का कारण रोगी घृणित हुने गरेकाले कुष्ठरोगीलाई समाजमा खुल्ला वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौति रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका क्षयकुष्ठ अधिकृत रेकबहादुर थापाले बताए । ‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेबाटै कुष्ठरोगी अपहेलित भइरहेको छन्,’ उनले भने, ‘यसप्रति सकारात्मक सचेतना फैलाउन आवश्यक छ ।’

कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाई अन्यत्रैको स्वास्थ्य संस्थामा गएर औषधि सेवन गर्ने प्रचलन कायम रहेको उनले बताए । ‘नजिकको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय व्याप्त छ”, उनले भने, “त्यस्तो भयलाई हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

छ महिना र एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकाले कुष्ठरोगीलाई ठूलो रोगका रुपमा लिननहुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए। ‘खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म पुर्याउने वातावरण सिर्जना गर्नुपर्छ,’ अधिकारीले भने । उनका अनुसार कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार तथा समुदायमा रोगका बारेमा सही जानकारी दिने र प्रचारप्रसार अभियान सञ्चालन गरिएको छ ।

तनहुँमा ११ कुष्ठरोगका बिरामी

जिल्लामा हाल एघार कुष्ठरोगका बिरामीले उपचार सेवा लिइरहेका छन् । गत आर्थिक वर्षमा १० कुष्ठरोगका बिरामी रहेकामा चालु आर्थिक वर्षमा दुई जना नयाँ बिरामी थपिएका क्षयकुष्ठ अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एक जना बिरामी भने नियमित औषधि सेवनपछि निको भएका छन् ।

हाल व्यास नगरपालिकामा नौ, बन्दीपुर गाउँपालिका एक र शुक्लागण्डकी नगरपालिकामा एक जना सर्ने कुष्ठरोगका बिरामी छन् । जसमध्ये छ महिला र पाँच पुरुष रहेका कार्यालयले जनाएको छ । शुक्लागण्डकीका एक पुरुष भने औषधि सेवनपछि निको भएका छन् । सरकारले कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोप दरप्रति दश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष ०७५÷७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । त्यसमध्ये १४ वर्षमुनिका बिरामी ३३७ रहेका थिए ।

Advertisement

Advertisement

Advertisement