इसेवा ११औं वर्षमा, खाता खोल्नेको संख्या करिब ३० लाख, एक करोडभन्दा बढीलाई सेवा

Advertisement

काठमाडौं । भुक्तानी सेवा प्रदायक अग्रणी कम्पनी इसेवा ११औं बर्ष प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन सुरु गरी सन् २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले एक दशकमा राम्रो सफलता हासिल गरेको छ ।

नगदरहित अर्थतन्त्र निर्माणको प्रयासमा महत्वपूर्ण सहयोग गर्दै मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुग्ने अभियानमा रहेको छ । कम्पनीले दुर्गम क्षेत्रसम्म पुगेर नगदरहित अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा सहयोग गर्न आफूले महत्वपूर्ण सहयोग गरेको पनि बताएको छ ।

एक दशकको अवधिमा इसेवामा प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको जनाइएको छ । यसैगरी अप्रत्यक्षरूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीको भनाई छ । हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन् ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा भन्छन्, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सीमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ।’

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तिहरुमा धेरै किसिमका सहजता आफूहरुले ल्याएको भन्दै इसेवाले मानिसहरुले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेको बताएको छ । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने उसले जनाएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement