दोस्रो चरणको चक्रपथ विस्तारः सरकारले ढिलाई गर्दा चिनियाँ ठेकेदोरले काम गर्न पाएन्

Advertisement

काठमाडौँ । पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको हो ।

त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो । सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ । चक्रपथको कलङ्कीदेखि धोबीखोला (चावहिल) पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो ।

चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग)का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रका जग्गा अधिग्रहण गर्ने निर्णय गरे पनि अधिग्रहण प्रक्रिया सुरु हुनसकेको छैन । चक्रपथ विस्तार गर्न यो खण्डमा सडक सीमाको दायाँ बायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गरिनुपर्ने र सोको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

सडक विभाग, विकास सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको बताए । उनले सडक विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी दिए । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ ।

उनले भने, ‘‘चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, रुख कटान, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुन तथा जग्गा अधिग्रहणको काम पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्ने छन् ।’’

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement