दैलेखका पहाडमा पेट्रोलियम खोज्दै राता मान्छे !

Advertisement

काठमाडौं । यतिबेला दैलेखका पहाडमा पेट्रोलियम पदार्थ खोज्न दर्जनौं राता मान्छे खटिएका छन् । रातो ज्याकेट र रातै ट्राउजर लगाएका उनीहरु फौजी मान्छे भने होइनन् उनीहरु पेट्रोलियम अन्वेषणका प्राबिधिक टोली हुन् ।तिमध्ये ५० जना चिनियाँ छन् भने आधा दर्जन नेपाली छन् । दुबै टोलीमा प्राबिधिक र गैर प्राविधिक गरि एक सय जना भन्दा बढी पहाड प्वाल पार्न क्रियाशिल छन् ।

पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार हाल सेस्मिक सर्भेको काम धमाधम भैरहेको छ । यसले ड्रिलिङ गर्ने उपयुक्त ठाउँ फेला पार्न सघाउँछ । जहाँबाट ४.५ किलोमिटर गहिरो ड्रिलिङ गरिनेछ । र पेट्रोलियम पदार्थको भण्डारणको अवस्था पत्ता लगाएर मूल्यांकन गर्न सकिनेछ । म्याग्नेटेलोरिक सर्भे भने सम्पन्न गरिसकिएको छ । उनले दैलेखका पहाडमा कति इन्धन छ भन्ने तथ्य पत्ता लगाउन अझै २ वर्ष धैर्यताका साथ कुर्नुपर्ने पनि बताए ।

दैलेख अन्वेषणको चाईना जिओलोजिकल सर्भेका तर्फबाट प्रा.डा. टान फुयेनले गरिरहेका छन् । २ वर्षभत्र अन्वेषणको काम सम्पन्न गरेपछि थप ६ महिनामा आर्थिक सम्भाव्यताको खोजी गर्न समय लाग्नेछ । आगामी अढाई महिनामा यो काम सम्पन्न गरेपछि ४ महिना लगाएर त्यसको प्रतिवेदन तयार हुनेछ । र सोही प्रतिवेदनका आधारमा आगामी दशैंतिर ड्रिलिङ गरिने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख रजौरेले जानकारी दिए ।

अन्वेषणका लागि चीन सरकारले २ अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ भने नेपाल सरकारले एक करोड ४५ लाख बजेट उपलब्ध गराएको छ ।

यसरी अघि बढ्यो काम
यो अन्वेषण योजनाका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नेपालका तर्फबाट खानी विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट डा. वाङ कुनले हस्ताक्षर गरेका थिए । त्यस अघि पनि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो ।

२०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो ।

पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो ।

यी हुन १० ब्लक
नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement