कृषि यान्त्रिकीकरणमा जोडः काभ्रेका किसानलाई अनुदानमा कृषि औजार वितरण

Advertisement

बनेपा । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

वडाका सबै कृषकलाई समेट्ने गरी पाँच/पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण गरेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए । ‘गाउँमा काम गर्नसक्ने जनशिक्त विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौँ’, उनले भने, ‘गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमीन बाँझो राख्न थालेपछि सहजताका लागि ४० हजार पर्ने औजारलाई रु २० हजार वडा कार्यालय र २० हजार किसान समूहले ब्यहोर्नेगरी औजार वितरण गरेका हौँ ।’

औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको वडाध्यक्ष गौतमको भनाइ छ । यसैगरी वडा कार्यालयको अनुदानमा यहाँका मुख्य बस्तीमा सात कुटानी÷पिसानी मिल वितरण गरेको छ । रु ४० हजार पर्ने मिल ५० प्रतिशत अनुदानमा गाउँका मुख्य बस्तीमा वितरण गरेको वडाध्यक्ष गौतमले बताए । वडाका बाँझे, तुसारे, पोखरीडाँडा, सुलिकोट, बिरुवा, रैकर र पञ्चकन्या टोलमा मिल वितरण गरिएको हो ।

त्यस्तै किसानको मागका आधारमा वडा कार्यालयले ५० प्रतिशत अनुदानमा ४० मौरीको घार पनि वितरण गरेको छ । चार हजार पर्ने घार ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष गौतमले बताए । मौरीपालनका लागि गाउँपालिकाभरिकै उपयुक्त रहेको वडा नं ५ का किसानको मागलाई सम्बोधन गरेर घार वितरण गरिएको जनाइएको छ । त्यस्तै किसानलाई पाँच प्लाष्टिक पोखरी र प्लाष्टिक टनेल पनि वितरण गरिएको छ । किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरण प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले गाउँपालिकालाई विस्तारै औद्योगिकीकरण र यान्त्रिकीकरणलाई जोड दिएको बताए । गाउँका किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement