साउदी राजकुमारले अमेजन मालिक बेजोसको आइफोन ह्याक गरेकै हुन् त ?

Advertisement

काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई अमेरिकी अर्बपति जेफ बेजोसको फोन ह्याकिङको आरोप लागेको छ। फोन ह्याकको घटना साउदी शासकका आलोचक एवम् पोस्टका पत्रकार जमाल खसोग्जीको हत्याभन्दा पाँच महिना पहिले नै भएको थियो। पोस्टका मालिक बेजोस हुन्।

अमेरिकामा बस्दै आएका साउदी सरकारका आलोचक खसोग्जीलाई सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासभित्र हत्या गरिएको थियो। बिन सलमानलाई उक्त हत्या आदेश दिएको आरोप लागेको छ तर साउदी अरेबियाले सो हत्या उनका सेवामा रहेका मानिसहरूले विनाअनुमति गरेको भन्दै आएको छ।

बुधवार द गार्डियन पत्रिकामा प्रकाशित समाचारका अनुसार बेजोसको फोनमा ह्वाट्सएपमार्फत् बिन सलमानको व्यक्तिगत खाताबाट शङ्कास्पद लिङ्क पठाइएपछि उनको फोन ह्याक भएको थियो।

बेजोसको फोनबाट फोटो तथा मेसेजहरू हात पारेपछि ह्याकरहरूले बेजोसलाई ब्लाकमेल गर्न थाले । तर त्यस्तो ब्लाकमेलिङलाई खारेज गर्दै बेजोसले उक्त प्रकरणको छानबिन अघि बढाएका थिए । साथै बेजोसले नो थ्यांक यू मिस्टर पेकर शीर्षकको ब्लगसमेत लेखेका थिए । स्मरणरहोस्, सन् २०१८ को अप्रिलमा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग जेफ बेजोसले डिनर मिटिङ गरेका थिए । त्यस क्रममा दुईजना बीच फोन आदानप्रदान भएको थियो ।

सन् २०१७ मा साउदी शाही सेनाले एनएसओ ग्रुपबाट पेगासस थ्री भाइरस प्राप्त गरेको थियो । साउदी राजकुमारले नियतबस नै बेजोसमाथि जासूसी गर्नका लागि निजी साइबर सेक्योरिटी कम्पनीले उत्पादन गरेको भाइरसले आक्रमण गरेको अनुसन्धानले दाबी गरेको छ ।

जेफ बेजोस मालिक रहेको द वासिंटन पोष्ट पत्रिकाले साउदी शासनमाथि आलोचनात्मक समाचारहरू प्रकाशित गर्ने गरेको थियो । साउदी जासूसद्वारा हत्या गरिएका पत्रकार जमाल खसोग्जी पनि सोही पत्रिकामा कार्यरत थिए ।

साउदी राजकुमारले बेजोसको मोबाइल ह्याक गर्नका लागि प्रयोग गरेको भाइरस उत्पादन गर्ने इजरायली समूह एनएसओ ग्रुपले विश्वका विभिन्न सरकारहरूलाई यस्ता खाले भाइरसहरू बेच्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement