प्रभु पे क्यान इन्फोटेक फागुन ११ गतेदेखि, ५० हजार दर्शकबाट ३५ लाख आम्दानी गर्ने लक्ष्य

Advertisement

पोखरा । पोखरामा फागुन ११ देखि १५ गतेसम्म ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएशन विथ वर्ल्डलिंक’ आयोजना हुने भएको छ । क्यान कास्कीले आयोजना गर्ने ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तीव्र बनाइएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलन गरी सोमवार दिइएको जानकारीअनुसार यसपटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गर्न लागेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने क्यान कास्कीका अध्यक्ष रुक्मांगत भण्डारीले बताए । कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म प्रविधिको पहुँच पुर्‍याउने लक्ष्य इन्फोटेकको रहेको उनले बताए ।

इन्फोटेकमा आईसीटी प्रोडक्टहरूको प्रदर्शनी एवं विक्री गरिनेछ भने आईसीटी रोजगारी फर्म वितरण र तालीम सञ्चालन कार्यक्रम पनि हुनेछ । यस्तै आईसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पीच प्रतियोगिता इन्फोटेकमा गरिने आयोजकको भनाइ छ ।

ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोबोट प्रतियोगिता, आईसीटी म्युजियम प्रदर्शनी, आईसीटी बिजनेस टक पनि इन्फोटेकको आकर्षणका रूपमा रहनेछन् । साथै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेका लागि प्रमाणपत्र, ट्रफी तथा अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेले इन्फोटेक सफल पार्न प्रदेशका सम्पूर्ण जिल्लाको साथ मिल्ने बताए । सूचना तथा प्रविधिका क्षेत्रमा भएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याउन सक्नुपर्नेमा उनको जोड छ ।

मेलामा आईसीटीसँग सम्बन्धित करीब १०० ओटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलाबाट रू। ३५ लाख आम्दानी गर्ने अनुमान आयोजकको छ । नाफाबाट रू। ३० लाख खर्च कटाई रू। ५ लाख बचत गर्ने अपेक्षा राखिएको क्यान कास्कीका कोषाध्यक्ष विश्व प्रधानले बताए । इन्फोटेकको तयारीका लागि क्यान कास्कीका अध्यक्ष भण्डारीको संयोजकत्वमा ३५ ओटा विभिन्न उपसमिति गठन भएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको छ भने इन एशोसिएशन विथमा वर्ल्डलिंक, गोल्ड स्पोन्सरमा ब्रदर्श विथ कास्परस्काई र स्मार्ट छन् । त्यस्तै सिल्भर स्पोन्सरमा भायनेट, लर्ड बुद्ध एजुकेशन फाउन्डेशन र एस–पावर छन् भने नलेज पार्टनरमा निम एकेडेमी, अफिशियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एमबी टे«डर्स, फ्री मेन्टेनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसको साथ दिनेछन् ।

क्यान कास्की अध्यक्ष विश्वासको अध्यक्षतामा भएको कार्यक्रम द्वितीय उपाध्यक्ष विकास भुर्तेले सञ्चालन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement