काठमाडौंका विभिन्न स्थानबाट उद्धार गरिएकामध्ये ३० पुनः सडकमै फर्किए

Advertisement

काठमाडौं । आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौंका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकामध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ । यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ ।

लामो समयसम्म सडकमा बसेकाले पुनः परिवारसँग बस्न उनीहरुलाई समस्या भई फर्केको हुनसक्ने मानवसेवा आश्रमले जनाएको छ । बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानलाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिइरहेको छ ।

काठमाडौंका विभिन्न सडकबाट उद्धार गरी आश्रममा ल्याइएकामध्ये २० ले बिना जानकारी आश्रम छोडेका छन् । परिवारका सम्पर्कमा नगएका उनीहरुलाई अहिलेसम्म भेट्न नसकिएको बताइएको छ ।

कामपाले गत मङ्सिर २९ गतेदेखि भोकै कोही पनि नपरुन कसैले पनि मागेर खान नपरोस् भन्दै अभियान शुरु गरेको हो । आगामी तीन महिनामा सडकमा विभिन्न बहानामा मागेर बस्नेलाई व्यवस्थापन गर्ने जनाइएको छ ।

सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिल चोकगायतका स्थानमा छन् । ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको रहेको मानवसेवा आश्रमले जनाएको छ । हरेक दिन राति ८ देखि ११ बजेसम्म उद्धारको गर्न कामपा, प्रहरी, आश्रमका प्रतिनिधिसहित ५० को टोली खटिने गरेको छ ।

अभियान मूल व्यवस्थापन समिति प्रदेश नं ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये छको मृत्यु भएको जानकारी दिए । मृतकको पहिचान हुनसकेको छैन । गत पुसको पहिलो साता रानीपोखरी आसपासपाट उद्धार गरिएको उपचारको क्रममा वीरअस्पतामा मृत्यु भएको जनाइएको छ ।

उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो । यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ । परिवार भएका र सक्रिय जीवन जीउन सक्ने पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन् । ‘परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ’, आश्रमका अध्यक्ष रामजी अधिकारीले भने ।

Advertisement

Advertisement

Advertisement