गुठी संस्थानका प्रमुख र उपप्रशासकले लिए ८ लाख घुस, विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीले ८ लाख भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मीले जिल्ला काठमाडौं काठमाडौँ महानगरपालिका १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस मागरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गुठी संस्थानका प्रशासक चौधरी र उपप्रशासक रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग आठ लाख घुस लिएको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता कोइरालाले बताए ।

उक्त रकम उनीहरुले सेवाग्राही स्वयम्लाई एवम् निजको बैंक खातामा जम्मा गरी फिर्तासमेत गरेको पुष्टि हुन आएको देखिएकोले प्रशासक चौधरी र उपप्रशासक रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको आयोगले ठहर गरेको छ ।

उनीहरुले घुस लिएको रकम ८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै प्रशासक चौधरी नेपाल सरकारका राजपत्राङ्कित बिशिष्ट श्रेणी सरहका सार्वजनिक संस्थानका प्रमुख रहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेतको मागदाबी सहित मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement