सूर्यविनायक नगरपालिकाको आफ्नै भवन निर्माणको शिलान्यास

Advertisement

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नै भवन निर्माण शुरु गरेको छ । नयाँभवनको आज नगर प्रमुख वासुदेव थापाले शिलान्यास गरेका हुन् । वडा नं ६ कटुञ्जेस्थित महेन्द्र निमावि सञ्चालन भएको भवन क्षेत्रमा नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण शुरु गरेको हो ।

भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नगरपालिकाले अबका दुई वर्षमा भवन निर्माण सम्पन्न गरिसक्ने गरेर छ रोपनी ११ आना क्षेत्रफलमा आठ हजार ८१० वर्गफिट क्षेत्रमा भवन निर्माण हुने नगरप्रमुख थापाले बताए । कूल साढे चारतला अग्लो रहने उक्त भवनमा १०० गाडी पाकिङ गर्न मिल्ने गरी दुई तलाको अण्डर ग्राउण्ड पार्किङ रहनेछ । ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री, महिलामैत्री, शिशु स्तनपान क्षेत्र, दुई लिफ्टसहित ४८ कोठा रहने छन् ।

नगरपालिकाले ८० जना क्षमताको बैठककक्ष र २१० जना क्षमताको सभाकक्ष रहने उक्त भवन कूल रु २० करोड ४१ लाखको लागतमा निर्माण सम्पन्न गर्नेगरी भ्याली बाबुरत्न निर्माण सेवासँग ठेक्का सम्झौता भएको नगरप्रमुख थापाले जानकारी दिए । महेन्द्र शान्ति निमाविमा विद्यार्थी नभएकाले तीन वर्षअघि नै विद्यालय मर्ज भएपछि खाली रहेको उक्त स्थानमा विद्यालयको जीर्ण भवन भत्काएर नगरपालिकाले आफ्नो भवन बनाउन लागिएको हो ।

आगामी दुई वर्षभित्र नगरपालिकाले यस नगरका सबै वडाका वडा कार्यालय भवनसमेत निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए । नगरपालिकाले तत्काल वडा नं २, ६ र १० का वडा कार्यालय भवन निर्माण गर्न रु एक करोडभन्दा बढीको लागतमा निर्माण शुरु गर्ने भएको जानकारी दिँदै उहाँले दुई वर्षमा सबै वडाका आफ्नै भवनसमेत निर्माण हुने बताए ।

Advertisement

Advertisement

Advertisement