गाँजा खेतीलाई वैधानिकता देउ, एक अर्बको प्रशोधन कारखाना खोल्छुः उपाध्याय

Advertisement

काठमाडौँ । गाँजा खेतीलाई वैधानिकता दिन संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि सरकारका एकजना अवकाश प्राप्त सचिव भीम उपाध्यायले एक अर्ब बैदेशिक लगानीमा प्रशोधन कारखाना खोलाउने जिम्मा आफ्नो भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत पूर्वसचिव उपाध्यायले यस्तो उद्घोष गरेका हुन् । सरकारले मात्र यसलाई वैध गरिदियोस्, गाँजाको प्रभावकारी नियमन र ब्यवस्थापनका लागि कानुनी ब्यवस्था त भएपछि प्रशोधन कारखाना खोलाउने उनको धारणा छ ।

उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्–‘बहुमूल्य गाँजाको बहुआयामिक औषधीय, मनोरञ्जनात्मक तथा औद्योगिक सदुपयोग कसरी गर्ने ? भन्ने विषयमा गम्भीर अध्ययन गर्न संसदीय समिति गठन गरियोस् । सो समितिमा बिज्ञहरूलाई समेत संलग्न गराई अध्ययन गरेर सरकारलाई अनुकूल कानुनी एवम् संस्थागत ब्यवस्था गर्न सिफारिसका साथ निर्देशन दिईयोस् ।’

लाखौंलाई चाँडै रोजगारी दिंदै धनि बनाउनु पर्छ। गाँजाको फसल ४ महिनामैं तयार हुन्छ र विश्व बजारमा अहिले नेपालको गुणस्तरीय रैथाने गाँजाको ठूलो माग छ । यो पर्यावरण स्वच्छ पार्ने महत्वपूर्ण वनस्पति पनि हो । त्यतिकै गाँजा शिव भगवानलाई चढाईने गरिएको हैन नि ? भगवानलाई चढाईने सबै वनस्पतिको महिमा अपरम्पार छ । बस नेपालीको बुद्धिको बिर्को खुल्न मात्र पर्छ–उपाध्यायले लेखेका छन्–‘अब सबै नेपालीको दिमागको बिर्को खोल्ने काम विवेकीहरूले गर्दैरहनु पर्छ ।’



मकवानपुरका सांसद खतिवडाले गरे संसदमा प्रस्ताव दर्ता
यता, नेपालमा लागू औषधको रुपमा लिइने गाँजालाई वैधानिक मान्यता दिन माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेकपाका सांसदहरु प्रस्तावक र समर्थक रहँदै गाँजालाई वैधानिक मान्यता दिइ व्यवसायिक रुपमा खेती गर्ने कानून निर्माणका लागि सहयोग भन्दै प्रस्ताव माघ १४ गते दर्ता भएको हो ।

दर्ता नम्बर २ रहेको प्रस्तावको प्रस्तावक नेकपा सांसद विरोध खतिवडा रहेका छन् भने समर्थकमा पूर्वगृहमन्त्री समेत रहेका नेकपा सांसद जनार्दन शर्मा र पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तिमगरसहित ४५ जना सांसदहरु रहेको प्रस्तावक सांसद खतिवडाले जानकारी दिएका छन् ।

अमेरिका, क्यानडा, नेदरल्याण्ड्, थाइल्याण्ड लगाएतका ६५ देशहरुले गाँजा उत्पादनलाई वैधानिक मान्यता दिएर किसानलाई आर्थिक रुपमा सवल पुर्‍याएको भन्दै नेपालमा पनि बहसको शुरुवातको आवश्यकता महसुस गरेर प्रस्ताव दर्ता गराएको सांसद खतिवडाको प्रतिक्रिया छ ।

‘संसारका ६५ देशले गाँजा उत्पादन गरेर औषधिका रुपमा प्रयोग गरिरहेका छन् । हामीकहाँ गाँजालाई औषधिका रुपमा प्रयोग गर्न पनि नदिने, उल्टो जेल हाल्ने व्यवस्थालाई परिमार्जन गर्दै गाँजाको उत्पादनले कृषकको आम्दानीको स्रोत बनाउनुपर्छ, सरकारको नियमनमा वैधानिक बनाएर कानून संसोधन गर्नुपर्छ–प्रस्तावमा उल्लेख छ ।

विश्वका अन्य देशले गाँजाबाट डलर कमाइरहेको अवस्थामा नेपालमा भने गाँजा खेती गर्नेले जेल जानुपर्ने कानून बनाउनु हुँदैन भन्ने हिसाबले प्रस्ताव दर्ता हो–सांसद खतिवडाले भने ।

Advertisement

Advertisement

Advertisement