चालीस हजार घुस खाने खरिदार बिरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । चालीस हजार घुस खाने भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट–सुस्ता पश्चिम) का खरिदार नेत्रबहादुर चौधरी बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट–सुस्ता पश्चिम)का खरिदार चौधरीले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक पटक घुस मागेका थियो । सो उजुरी आयोगमा परेको र सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले चौधरीलाई चालीस हजार रुपियाँ घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिएको थियो ।

प्रवक्ता कोइरालाका अनुसार अनुसन्धानको सिलसिलामा चौधरीले सेवाग्राहीको श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको चालीस हजार घुस लिएको पुष्टि भएपछि बिगो चालीस हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Advertisement

Advertisement

Advertisement