बुटवलमा क्यान इन्फोटेक शुरु

Advertisement

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीको आयोजनामा नवौं संस्करणको सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक) आजदेखी बुटवलमा शुरु भएको छ । बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा सञ्चालित मेलाको प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका हुन् ।

महासंघले माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजना हुँदैछ । मेलाको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशको विकास र समृद्धिमा सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले यससँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए । सूचना प्रविधिमा नयाँ नयाँ आविष्कार गरेर नै विश्वका थुप्रै मुलुकहरु विकसित र समृद्ध भएको औंल्याउँदै मन्त्री बरालले प्रदेश सरकार यस क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका केन्द्रीय अध्यक्ष नवराज कुंवरले सूचना प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए । उनले सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उतपादन, नयाँ खोज र अनुसन्धानमा क्यान महासंघ तीनै तहका सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका १ सय १० स्टलहरुको सहभागिता रहेको क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले जानकारी दिए । मेलामा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुका १ सय १० बढी स्टलहरु छ ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेली कम्युनिकेशनस, बैंक, आईसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयर सँग सम्बन्धित स्टलहरु छ ।

मेलाले अवलोकनकर्ता लाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविश्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने छ ।

मेलाको विशेष आकर्षणको रुपमा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी, वक्तित्वकला प्रतियोगिता, हार्डवेयर र सफ्टवेयरमा नयाँ आविश्कारको प्रतियोगिता, सूचना प्रविधि तथा विद्युतीय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ । सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी, जेष्ठ र अपाङ्गता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था रहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement