वन मन्त्रालयले गर्दा मयूरधाममा औद्योगिक क्षेत्र निर्माण रोकियो

Advertisement

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयूरधापमा नयाँ औद्योगिक क्षेत्रको निर्माणकार्य प्रभावित भएको छ । विसं २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । वन तथा वातावरण मन्त्रालयले गर्दा औद्योगिक क्षेत्रको काम प्रभावित भएको हो ।

स्वदेशी उत्पादनमा वृद्धि तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको निर्माणको कामलाई उक्त मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नगर्दा औद्योगिक क्षेत्रको काम बन्द भएको हो । उक्त औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएको कारण देखाउँदै मन्त्रालयले समस्या उत्पन्न गरेको बताइएको छ ।

औद्योगिक क्षेत्रको लालपुर्जा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेर तारबार र प्लटसमेत छुट्याउने काम भइसकेको छ । मन्त्रालयले स्वीकृति नदिँदा समस्या भएको हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए । विसं २०७३ मा औद्योगिक क्षेत्र स्थापना गर्न मयूरधाप औद्योगिक क्षेत्रको नाममा लालपुर्जा प्रदान गरेको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको परियोजना कार्यालयका लागि दरबन्दीसमेत तोकेर सातजना कर्मचारी खटाएको छ ।

औद्योगिक क्षेत्र निर्माणका लागि रु सात अर्बभन्दा बढी रकम खर्च हुने अनुमान छ । हेटौंडामा यो दोस्रो औद्योगिक क्षेत्र हो । यसअघि २०२० सालमा अमेरिकी सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालित छन् । उक्त औद्योगिक क्षेत्रमा २२६ बिघा जमिनमा विभिन्न उद्योग सञ्चालित छन् । नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि स्थानीय उत्साहित रहेका स्थानीयवासी नरेन्द्र दुलालले बताए ।

पूर्वमा मयूरधापको बस्ती, पश्चिममा कालापानी, दक्षिणमा उत्तरपानी र उत्तरतर्फ पदमपोखरीको चारकिल्ला भित्रको चुरे खहरे उकास जमिनमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । उक्त औद्योगिक क्षेत्र सञ्चालनमा आए करिब तीन सय उद्योग स्थापना गर्ने तयारीमा लगानीकर्ता रहेका बताइएको छ । औद्योगिक क्षेत्र निर्माणमा बाधा पुगेपछि उपमहानगरपालिकाले पनि लिखित पत्राचार गरेको छ ।

Advertisement

Advertisement

Advertisement