कोरोना भाइरसको संक्रमण प्रभाव पोखरा विमानस्थलमा, निर्माण कार्य प्रभावित

Advertisement

पोखरा । निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका चिनियाँ कामदार चीनमै रोकिएका छन् । चीनमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिनियाँ नागरिकको आउजाउ रोकिएको छ । विमानस्थल निर्माणका लागि आउने तयारीमा रहेका थप कामदारसमेत आउन नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दुई सय ५० चिनियाँ कामदार खटिएका थिए । ती मध्ये २० जना कामदार नयाँ वर्ष मनाउन स्वदेश फर्केका थिए । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै ती कामदार स्वदेशमै रोकिएको मुनकर्मीले बताए । सडक निर्माणका लागि आउनुपर्ने थप १५ कामदार पनि आउन नपाएको उनले बताए ।

‘विमानस्थलको काम नै प्रभावित भएको त छैन । यतिखेर सडक ढलान गर्ने योजना थियो । तर सडकमा खटिने र मेसिन चलाउने १५ जना अतिरिक्त कामदार आउन पाएनन्,’ मुनकर्मीले भने, ‘बिदामा गएका कामदार पनि रोकिएका छन् ।’ १५ दिन लाग्ने सडक ढलानको कामका लागि बिदामा गएका बाहेक ठूला उपकरण चलाउने अतिरिक्त १५ जनाजति कामदार आउने तयारी भएकामा उनीहरु पनि रोकिएको उनले बताए ।

‘अहिले नै सडक ढलान गगर्नैपर्ने भन्ने त होइन । यो काम केही समय पछि गर्दा पनि हुन्छ,’ मुनकर्मीले भने, ‘अरु काममा भने असर परेको छैन । नियमित रुपमा काम गर्ने केही कामदार नहुँदा पर्ने प्रभाव सामान्य हो ।’ बिदामा गएका कामदार आउन अझै केही दिन लाग्ने भएकाले योजनाअनुसार काम गर्न भने नपाउने अवस्था आएको उनले बताए । ‘१५ दिन घरभित्रै बस्न चीन सरकारले भनेको छ । त्यसपछि आइहाले पनि यहाँ काममा लगाउने अवस्था रहन्न,’ उनले भने, ‘कोरोनाको लक्षण तत्काल नदेखिने भएकाले केही गरी कामदार आएको खण्डमा पनि उनीहरुलाई केही दिन सावधानी अपनाउन काममा लगाउन सकिन्न ।’

विमानस्थलले संक्रमण त्रासले परिसरमै दुईवटा आइसोलेसन रुमसमेत तयार पारेको छ । केही दिनअघि आएका एक चिनियाँ कामदारलाई त्यही कोठामा राखिएको र अरुसँग हेलमेल हुन नदिएको मुनकर्मीले बताए । ‘ती कामदारलाई संक्रमणको लक्षण त देखिएको छैन । तर सचेतना अपनाउँदै एक सातादेखि काममा लगाएका छैनौं । अरुसँग भेटघाट पनि गर्न दिएका छैनौं,’ उनले भने, ‘भिन्नै कोठामा राखेर सचेतना अपनाएका छौं ।’ विमानस्थलभित्र आइसोलेसन वार्ड बनाएको भए पनि चिकित्सक भने खटिएका छैनन् । कोरोना परीक्षणका लागि यहाँ किट नभएकाले पनि चिकित्सकबाहेकको भिन्नै कोठामात्र राखेको र बिरामीको लक्षण देखिए अस्पताल लैजाने गरी व्यवस्थापन मिलाएको उनले बताए । अरुसँग संसर्ग हुन नदिन सचेतना अपनाएको मुनकर्मीले जानकारी दिए ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement