'फेसबुक/युट्युबको विज्ञापन र आम्दानी रोकिँदैन'

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा हुने विज्ञापन र आम्दानीलाई नियमन गर्न खोजेको हो । तर बजारमा सामाजिक सञ्जालको विज्ञापन र आम्दानीलाई नियन्त्रण गर्न खोजेको भनेर अफवाह फैलाउने काम भएको छ । हामी फेसबुक, ट्वीटर, युट्युबहरुमा गरिने विज्ञापन र त्यहाँबाट हुने आम्दानीलाई नियन्त्रण गर्ने पक्षमा छैनौं । त्यसलाई व्यवस्थापन गर्न खोजेका हौं ।

सामाजिक सञ्जालबाट विज्ञापन गर्न पाइन्छ, आम्दानी पनि गर्न पाइन्छ । तर त्यसलाई कानुन अनुसार नियमन मात्रै गर्नुपर्छ । विदेशी विनिमय कारोबार गर्ने अनुमति लिएका संस्थाहरुले मात्रै त्यस्तो विज्ञापनका लागि भुक्तानी र आम्दानी प्राप्त गर्न सक्छन् । त्यसका लागि विज्ञापन एजेन्सी जस्तै संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ ।

त्यसरी गरिएको कारोबार र आम्दानीबाट राज्यलाई कर पनि आउँछ । केहि दिन अघि सामाजिक सञ्जालमा हुने विज्ञापन र आम्दानीमा संलग्नहरुलाई प्रहरीले पक्राउ समेत गरेको थियो । केहि त्यस्तो भुक्तानीमा उपयोग गरिएका कार्डहरु समेत जफत भएका थिए ।

हामीले त्यसरी प्राप्त हुने रकम नियमित होस् भन्न खोजेका हौं । नागरिकले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेका छन् । युट्युबबाट आम्दानी पनि गरिरहेका छन् । त्यस्तो आम्दानीलाई कानुनी दायरामा ल्याउन मात्रै खोजेका हौं । नागरिकले आम्दानी गर्नै पाउँदैनन् भनेका छैनौं ।

अब विज्ञापन एजेन्सीहरुले विदेशी मुद्राको कारोबार गर्ने अनुमति लिएर त्यस्तो काम गर्न पाउँछन् । युट्युब च्यानल चलाउने व्यक्तिहरुका हकमा के गर्ने भन्नेबार हामी छलफल मै छौं ।व्यक्तिले खर्च गर्दा संस्थामार्फत सम्भव छ । तर आम्दानी प्राप्त गर्न भने केहि कठिनाई देखियो । त्यसका बारेमा भने हामी अध्ययन गरिरहेका छौं ।(नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रसँग गरिएको कुराकानीमा आधारित)

Advertisement

Advertisement

Advertisement