सर्लाहीका उखु किसानले भुक्तानी पाउन थाले, रौतहटको श्रीरामले अझै दिएन

Advertisement

काठमाडौँ । प्रदेश २ का उखु किसानहरुले भुक्तानी पाउन थालेका छन् । उद्योगीले किसानको खातामा दैनिक तीन करोड रुपैयाँसम्म रकम पठाएको जनाएका छन् ।

रामनगरमा रहेको एभरेस्ट सुगर मिलले दैनिक तीन करोड रुपैयाँसम्म किसानलाई भुक्तान गरिरहेको जनाएको छ । पुस ११ बाट मिलले ‘क्रसिङ’ सुरु गरेको थियो । सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले पनि दुई साताअघि खरिद गरेको उखुको भुक्तानी गर्न थालिसकेको जनाएको छ ।

उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीका अनुसार हिमाल चिनी मिल सिरहा, बाबा बैजनाथ चिनी मिल रौतहट, रिलायन्स चिनी उद्योग बाराले महिनादिन अघि खरिद गरेको उखुको रकम भुक्तानी दिन सुरु गरिसकेका छन् ।

तर, चिनी उद्योगीले गत वर्ष खरिद गरेको उखुको मूल्य डेढ महिनाभित्र किसानलाई दिनुपर्ने लिखित सहमतिलाई लत्याएका छन् । प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा को दरले पाउनुपर्ने अनुदान अझै किसान पाउन सकेका छैनन्।

यता, सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले विगत तीन वर्ष अघिदेखिको रकम भुक्तानी गरेको छैन । सोही कारणले चालू सिजनमा उक्त मिल पनि सञ्चालन हुन नसकेको बताएको छ । रौतहटको श्रीराम चिनी मिल र सर्लाहीको महालक्ष्मी चिनी मिल सञ्चालनमा आए पनि किसानको पुरानो ८ करोड अझै भुक्तानी नगरेको उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष मैनाली बताए ।

प्रदेश २ मा सबैभन्दा बढी उखु खेती हुन्छ । उखु खेती हुने जिल्लामध्ये सर्लाही पहिलो र महोत्तरी दोस्रोमा पर्छ । रामनगरमा रहेको एभरेस्ट चिनी उद्योगले उखु गरिद गरेवापतको ४७१ रुपैयाँ २८ पैसा र सरकारको तर्फबाट किसानलाई अनुदान स्वरुप दिने ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा सरकाले यस वर्षको उखु मूल्य तोकेको जनाइएको छ । सोही अनुसार उद्योगले किसानलाई भुक्तानी दिन सुरु गरेका छन् ।

Advertisement

Advertisement

Advertisement