चीनबाट नेपाल फर्किन तीन सय बढी नेपालीको आवेदन, नेपालमा राख्ने ठाउँको खोजी हुँदै

Advertisement

काठमाडौं । चीनबाट फर्किन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेइभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले जनाएको छ ।

कतिले फारम भरे भन्ने यकिन हुन बाँकी रहेको र समय सकिए पनि फर्कन चाहने सबै नेपालीलाई नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । हुवे प्रान्तमा करिब १७० जना नेपालीहरु रहेको अनुमान थियो । तीमध्ये केही जाडो विदा भएपछि पहिले नै स्वदेश फर्किइसकेका थिए । अहिले करिब १५० जना नेपाली हुवेमा रहेको अनुमान गरिएको छ ।

तर, दोब्बर बढीको आवेदन परेपछि हुवे प्रान्तका र अन्य प्रान्तका आवेदकलाई छुट्याउने काम भइरहेको दूतावासका अधिकारी बताउँछन् । मन्त्रालयले गएको माघ १४ गते आफ्नो नागरिक फिर्ता गर्न चाहेको पत्र चीनलाई पत्र पठाएको थियो । त्यसको सकारात्मक जवाफ आएपछि सरकारले चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन लागेको हो ।

चीनबाट आफ्ना नागरिक फर्काएका अरु देशले पनि अरु व्यक्तिसँग सम्पर्कमा आउन नदिन उनीहरुलाई छुट्टै ठाउँमा राखेका छन् । नेपाल सरकारले पनि यसरी राख्ने उपयुक्त ठाउँ खोजी भैरहेको जनाएको छ ।

कोरोना भाइरसको परीक्षण तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौंका पाँच र काठमाडौं बाहिर चार अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । चीनबाट फिर्ता ल्याइने र स्वदेशमै रहेका कोरोना शंकास्पदको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सिभिल अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीनमा रहेका नेपालीसहित सबै विदेशी नागरिकहरुको जीवन रक्षा तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गर्ने भन्दै संयमित हुन आग्रह गरेको थियो ।

हुवे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । डिसेम्बर अन्तिम सातादेखि हालसम्म कोरोना भाइरसकै कारण ३ सय बढीको ज्यान गइसकेको छ । कयौं संक्रमित छन् । कोरोनाको संक्रमण विश्वका २२ देशमा फैलिइसकेको छ भने चीन बाहिर पहिलो पटक फिलिपिन्समा एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाहिर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, चितवनको भरतपुर अस्पताल, भैरहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि तयारी राखिएको छ । तर चीनबाट ल्याइने नेपालीलाई कहाँ कसरी राख्ने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको सरकारले जनाएको छ । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भारत, बंगलादेश लगायत देशले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपालले पनि सक्रियता देखाएको हो ।

Advertisement

Advertisement

Advertisement