भरतपुरमा सिटिहल बनाउन सरकारले दियो डेढ अर्ब

Advertisement

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा हल निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिएकी छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले हलको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइ हल निर्माण गर्न स्रोत सुनिश्चितताको पत्र प्रदान गरेको हो ।

दुई वर्षभित्रमा काम सम्पन्न हुनेगरी बोलपत्र आह्वान गरिँदै छ । हलमा दुई हजार अट्ने एउटा ठूलो अडिटेरीयम हल, ३०० अट्ने दुईवटा, २०० अट्ने एउटा र १०० अट्ने तीन वटा हल हुने बताइएको छ । उनले सिटिहलमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैंचा , २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ रहने बताइन् ।

हलको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको भए पनि बजेटको सुनिश्चितताको अभावमा काम रोकिएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट भर्खरै मात्र सरुवा भएका प्रमुख कुमार घिमिरेका अनुसार हल नेपालकै अत्याधुनिक र ठूलो हुनेछ ।

काम सम्पन्न गर्न रु २ अर्बभन्दा बढी लाग्ने भए पनि मुख्य कामका लागि पहिलो चरणमा अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको सुनिश्चितता पत्र दिएको उनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र महानगर प्रमुख रेनु दाहालको काम अघि बढेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement