लगानी बढाउन स्वीजरल्याण्डका राजदूतलाई नेपाल उद्योग परिसंघको आग्रह

Advertisement

काठमाडौँ । नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मंगलबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ ।

प्रारम्भमा एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

स्वीजरल्याण्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै विशेषतः नेपालको गलैँचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराए ।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स माननीय विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

सो अवसरमा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत ओस्वाल्डले व्यक्त गरिन् ।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषद (थिंक ट्याङ्क) का संयोजक डा. शम्भुराम सिंखडाले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूत समक्ष आग्रह गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत स्वीस लगानीकर्ताका लागि उपयुक्त समय आएको उनले उल्लेख गरे ।

सो अवसरमा परिसंघका पदाधिकारी उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement