पृथ्वी राजमार्गको विकल्पमा त्रिशूलीपारि सडक निर्माण गरिने

Advertisement

काठमाडौं । पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो ।

पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्रयाक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, ‘मलेखुबाट विशालटारसम्म पनि ट्रयाक खोल्न समस्या छैन ।’

नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने पाइएको छ । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो । ठाउँ–ठाउँमा पुल रहेका र कतिपय बन्ने क्रममा रहेकाले पनि वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताए । उनले भने, ‘यसले गर्दा एकातिर स्थानीयवासी लाभान्वित हुनेछन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पारिबाट समेत आवतजावत गर्न सक्छन् ।’

नागढुङ्गादेखि मुग्लिनसम्मको ट्राफिक व्यवस्थापनका लागि नै यो सडक निर्माण गर्न लागिएको हो । नागढुङ्गा सडकमा दैनिक झण्डै १५ हजार सवारीसाधन आवतजावत गर्ने गरेकामा यो सडक सञ्चालनमा आएपछि त्यो चाप कम हुने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

Advertisement