गलकोटमा व्यावसायिक कागती खेती, बाँझो भएको पाखोबारीको सदुपयोग

Advertisement

गलकोट । बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गर्नुभएको छ । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन् । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले बताए ।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ गत वर्ष मात्रै १२० रोपनी जग्गा खरिद गरेका थिए । ‘प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले ३६ रोपनी जग्गामा गत वर्ष एक हजार ५०० कागतीका बिरुवा लगाएको छु’, श्रीषले भने, ‘खाली र झाडी बन्दै गएको जमीनमा कागती खेतीसहित बाख्रापालन गर्न थालेको छु ।’ कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालनसमेत थालेको श्रीषले बताए । ३० बाख्रा पाल्ने क्षमताको खोर निर्माणमा अहिले क्रियाशील हुन्छन् ।

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिद तथा खोर निर्माणका लागि झण्डै रु २३ लाख लगानी गरिसकेको श्रीष बताउँछन् । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर दुई वर्षअघि श्रीष कृषि तथा पशु फार्म दर्ता गरेका छन् ।

गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको भनाइ छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउँछन् ।

युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको उनले बताए । श्रीषको फार्मलाई कृषि ज्ञान केन्द्र पर्र्वतले रु दुई लाख र गलकोट नगरपालिकाले रु ५० हजार उपलब्ध गराएको गलकोट नगरपालिका–१० का अध्यक्ष डम्मर श्रीषले जानकारी दिए । नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरले कागतीको बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको वडाध्यक्ष श्रीषको भनाइ छ ।

समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना भएका कारण गलकोट नगरपालिकाले गत वर्ष नगरपालिकाभर छ हजार कागतीका बिरुवा अनुदानमा वितरण गरेको गलकोट नगरपालिका कृषि तथा पशु शाखा संयोजक हरिदत्त सुवेदीले जानकारी दिए। गलकोटममा मात्रै अहिले पाँचजनाले व्यावसायिकरूपमा कागती खेती थालेको गलकोट नगरपालिकाले जनाएको छ ।

कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातीत गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कृषकहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement