पाँच बर्षमा पर्यटन क्षेत्रमा तीन खर्ब ३५ अर्ब लगानी गर्ने दावी

Advertisement

काठमाडौँ। आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।

नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को मार्छौं, विमानस्थलमा ठूलो लगानी भएको छ । लागत उठाउने ढङ्गले सेवा पनि दिने र व्यवसाय पनि गर्नुपर्छ ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाँच वर्षमा सञ्चालनमा आउने चर्चा गर्दै उनले भने, “निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ हो । ट्राफिक समस्या सम्पन्न नगरी मुक्ति पाइँदैन ।” ट्राफिक जाम भएर आकाशमै विमान होल्ड गर्नुपर्ने समस्या समाधानका लागि निजगढ विमानस्थलको विकल्प नभएको उनको भनाइ छ ।

आगामी पाँच वर्षको योजना प्रस्तुत गर्दै भट्टराईले भने, “गौतमबुद्ध, निजगढ अन्तर्राष्ट्रिय, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रियजस्ता विमानस्थल सञ्चालनमा आएपछि र आन्तरिक विमानस्थलको विस्तार एवं विकास गरेपछि नेपालको हवाई सेवाले अतुलनीय फड्को मार्नेछ ।” आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ ।

हिमाल तथा पहाडका विमानस्थलहरू निरन्तर सञ्चालनमा ल्याइने र तराई क्षेत्रका विमानस्थल जुनसुकै बेलामा पनि सञ्चालन गर्न सक्ने गरी विकास र विस्तारको काम भएको बताइएको छ । विमानस्थलहरू केन्द्रीय सरकार मातहत रहे पनि प्रदेश र स्थानीय सरकारको मातहतमा जाने गरी नीतिगत व्यवस्था गर्न लागिएको मन्त्री भट्टराईले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थलको काम ८५ प्रतिशत सम्पन्न भएको छ भने पोखरा विमानस्थल एक वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । प्राधिकरणका अनुसार विराटनगर विमानस्थलको धावनमार्ग बढाउने काम भएको छ । १२६ बिघा जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । पाँच वर्षभित्र जग्गा अधिग्रहण गरी ठूला जहाज धान्न सक्ने गरी विस्तार गरिने भएको छ ।

नेपालगञ्ज विमानस्थललाई दुई हजार ६०५ मिटर लम्बाइको बनाइने भएको छ । १२ अर्ब रुपियाँ लगानी गरी पाँच वर्षमा नेपालगञ्जलाई ठूला जहाज सञ्चालन गर्न सकिने गरी विस्तार गरिने भएको छ । जसको गुरुयोजना बनाइसकिएको प्राधिकरणले जनाएको छ । चन्द्रगढी विमानस्थलको गुरुयोजना स्वीकृत भएको छ । धावनमार्गलाई एक हजार ८३० मिटर बनाएर आगामी पाँच वर्षमा विस्तार सम्पन्न गरिने भएको छ ।

त्यसैगरी धनगढी विमानस्थलको लम्बाइ दुई हजार ५५० मिटर बनाइने छ । जसमा ठूला जहाज पनि अवतरण गराउन सकिनेछ । चालू आर्थिक वर्षमा रनवेको काम गरिनेछ । जसका लागि २४३ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने जनाइएको छ । जसको लागत १२ अर्ब ५० करोड रुपियाँ अनुमान गरिएको छ । भरतपुर विमानस्थलको रनवे विस्तार गरी पाँच वर्षभित्र रातमा पनि जहाज अवतरण गर्न मिल्ने गरी विस्तार गरिने भएको छ । यसैगरी जनकपुरको गुरुयोजना बन्ने तयारी रहेको प्राधिकरणले जनाएको छ । जनकपुरलाई ठूला जहाज अवतरण गर्न मिल्ने गरी विस्तार गरिने भएको छ । राजविराज विमानस्थलको पनि धावनमार्ग बनाएर विस्तार गरिने भएको छ । महेन्द्रनगर विमानस्थलाई एक हजार ६९० मिटर लम्बाइको बनाइने भएको छ । जसका लागि ५० करोड रुपियाँ खर्च गरिने भएको छ ।
सुर्खेत, तुम्लिङटार, जोमसोम, रामेछाप, जुम्ला, सिमकोट, रारा, साँफेबगर, लामिडाँडा, ओखलढुङ्गा, बझाङ, इलाम, गुल्मी, रुम्जाटार, डोटी, रोल्पा, डोल्पा, दाङ, कालीकोट लगायतका देशभरका ५० वटा विमानस्थलको विस्तार गरी आगामी पाँच वर्षमा मझौला जहाज अवतरण गर्न मिल्ने बनाइने भएको छ ।लुक्ला विमानस्थलको हालको लम्बाइ ५२७ मिटर रहेको छ । सो विमानस्थलको लम्बाइ बढाउन रनवेमा पुल बनाउनुपर्ने सम्भावनाको अध्ययन गरिएको प्राधिकरणले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्राधिकरणले देशभरका ५४ वटै विमानस्थलको विकास र विस्तारको अवस्थाका बारेमा जानकारी गराइएको छ । आगामी पाँच वर्षमा सबै आन्तरिक विमानस्थलको विस्तार गरिने भएको छ । दाङको तुल्सीपुर विमानस्थललाई भन्दा पनि नारायणपुर विमानस्थललाई अघि बढाउन सहज हुने प्राधिकरणको दाबी छ । विमानस्थलहरूको धावनमार्ग बढाउनुका साथै भौतिक संरचनाहरू पनि निर्माण गरिनेछ । विमानस्थलहरूमा पुराना भवन रहेकाले सबै बनाउनुपर्ने अवस्था रहेको प्राधिकरणले बताएको छ ।

गोरखाप दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement