कोटेश्वर-कलङ्की सडकका तीन पुलको निर्माण अन्तिम चरणमा

Advertisement

काठमाडौँ । चीन सरकारले निर्माण गरेको कोटेश्वर–कलङ्की सडकमा नेपाल सरकारले निर्माण गरिरहेका छ पुलमध्ये तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । झण्डै १० किलोमिटर लम्बाइको सडकमा चीन सरकारले तीन आकाशे पुल निर्माण गरेको थियो । सरकारले दुई वर्ष पहिले नै छ आकाशे पुल निर्माण शुरु गरेको थियो ।

एकान्तकुना, सातदोबाटो र बालकुमारी पुलमा निर्माणको काम अन्तिममा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले बताए । उनका अनुसार यी तीन स्थानमा नै झण्डै ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बल्खु, सानेपा र थसिखेलमा भने निर्माण सुस्त छ । यहाँको आकाशे पुलको अवधि सकिएर एक वर्ष थप भएको छ । उनले भने,“सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माणाधीन योजनामा अवधि थप्ने व्यवस्था रहेकाले सोही अनुसार अवधि थपिएको हो ।”

नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकमा चीन सरकारले सम्झौतानुसार नै कोटेश्वर, धोबीघाट र बिएण्डबि अगाडि गरी तीन स्थानमा आकाशे पुल निर्माण गरेको थियो । सडक निर्माण हुँदादेखि नै पैदलयात्रुलाई आवतजावत गर्न कठीन भएको भन्ने धेरैले गुनासो आइरहेको थियो । सोही आधारमा सरकारले प्रत्येक एक किमी फरकमा एउटा आकाशे पुल पर्ने गरी छ स्थानमा पुल निर्माण गरेको हो ।

नेपाल सरकारले आठ लेन सडकको बाहिरपट्टी दुबैतर्फ एकएक लेनको ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ । चीन सरकारले नै निर्माण गर्न लागेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–महाराजगञ्ज–चावहिल) मा प्रत्येक एक किमीमा एउटा आकाशे पुल निर्माण गर्ने गरी डिजाइन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement