गच्छदार दोषी हो होइन ? मलाई थाहा भएन, म चाहीं निर्दोष होः माधव नेपाल

Advertisement

मोरङ । सत्तारुढ दल नेकपा वरिष्ठ नेता माधव नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेको दावी गरेका छन् । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपालले भने, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु।’ उनले यस प्रकरणमा कांग्रेस नेता विजय गच्छदार दोषी हुन् होइनन् ? भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।

यदि गच्छदार दोषी भए उनीलाई कारबाही हुनु पर्ने र निर्दोष भए फस्‍न नहुने बताउँदै नेता नेपालले तर आफू भने निर्दोष रहेको जिकिर गरे । सरकारको डिजाइनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्यक्षरुपमा संलग्न देखिएकालाई उन्मुक्ति दिएर निर्दोषलाई फँसाउने काम गरेको भन्दै काँग्रेसले बालुवाटारको सरकारी जग्गाको लालपुर्जा नै हुनेलाई कारवाही हुनुपर्ने बताउँदै आएको छ ।

नेता नेपालले अख्तियारले निर्दोषलाई मुद्दा चलाएर दोषीलाई उन्मुक्ति दिएजस्तो आफूलाई नलागेको बताउँदै आफ्‍नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको जिकिर गरे । कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने कार्यालयका सबै दोषी नहुने तर्क गर्दै उनले दोषीलाई मात्रै कारवाही हुनुपर्ने बताए ।

बिहीबार मात्रै अमेरिकी राजदूतलाई भेटेका माधव नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अमेरिकाले दिएको अनुदान छिटो संसदबाट पास गरेर लिनुपर्ने बताए । सँगसँगै उनले एमसीसी इण्डो–प्यासिफिकको अंग हो कि होइन ? र एमसीसीभित्रैका प्रावधान नेपालको हित प्रतिकूल छ कि छैन ? हेर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement