माछामासु, प्याज र लसुनमा उच्च मूल्य बृद्धी, कालोबजारी गर्नेलाई कारवाही गर्न मन्त्रीको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले माछामासु तथा तरकारीमा कालोबजारी गर्ने व्यवसायी माथि कारवाहीको माग सहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शुक्रबार ज्ञापन पत्र मार्फत मन्त्री भट्टको ध्यानाकर्षण गराएका हुन् । केही समय पहिले भारतीय बजारमा प्याजको अभाव भएको र भारतले निकासीमा प्रतिबन्ध लगाउने संकेत पाएपछि प्रतिकिलो ४५ रुपियाँमा पाइने प्याजको मूल्य २४० रुपियाँ सम्म पुगेको थियो । अहिले भने केही कम गरी १४० रुपियाँ प्रतिकेजीमा विक्री बितरण भइरहेको प्रति मञ्चले ध्यानाकर्षण भएको जनाएको हो ।

त्यसैगरी केही समय अघिसम्म २४० रुपियाँदेखि २६० रुपियाँ प्रतिकेजीमा पाइने बोइलर कुखुराको मासुको मूल्य अहिले एकाएक ४२० रुपियाँ पुर्याइएको छ । भारतबाट अबैध चल्ला, अण्डा र तयारी मासु आयात गर्दा नेपाली व्यवसायी संकटमा परेको भन्दै चिकेन होलिडेको नाममा ३० लाख चल्ला र ३ करोड थान अण्डा पुरेका व्यवसायीहरुले अहिले कुखुराको मासुको प्रतिकिलो ४२० रुपियाँ र अण्डा प्रतिगोटा १८ रुपियाँसम्ममा बिक्री गरेका छन् । कालो बजारी गर्नेहरुले यसरी भाउ बढाएपनि कुखुरा उत्पादकहरुले भने प्रतिकिलो २०० रुपियाँ पनि नपाएको गुनासो आएको मञ्चले जनाएको छ ।

यसैगरी दुई हप्ता अघिसम्म प्रतिकेजी १३० रुपियाँमा पायने लसुनको मूल्य अहिले केजीको ७५० रुपियाँ पुर्याइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको बहानामा भाउ बढाएर कालो बजारी गरिएको मञ्चले ठहर गरेको छ । यसरी विभिन्न बहानामा कालोबजारी गर्नेहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ तथा प्रचलित अन्य ऐन कानून अनुसार मूल्य तथा बजार अनुगमन गरी दोषी माथि हदै सम्मको कारवाही गर्न मञ्चले माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement